प्रदेश १ : कोभिड उपचारका क्रममा मृत्यु भएका कर्मचारीलाई सरकारले २५ लाख दिने

विराटनगर । प्रदेश १ सरकार मन्त्रिपरिषद्को बैठकले कोरोना संक्रमितकोको सेवा गर्दागर्दै कोभिड संक्रमणबाट मृत्यु भएमा त्यस्ता कर्मचारीको परिवारलाई २५ लाख दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले खटाएर कोभिड–१९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र शव व्यवस्थापनमा प्रत्यक्ष रूपमा संलग्न भएका व्यक्तिको कोभिड-१९ का कारण मृत्यु भएमा सो रकम दिने निर्णय गरेको हो ।

यो रकम निजको परिवारलाई क्षतिपूर्तिस्वरूप नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुनेगरी प्रदेश सरकारबाट एकमुष्ट २५ लाख दिने निर्णय भएको प्रदेश सरकारका सामाजिक विकासमन्त्री उषाकला राईले जानकारी दिइन् ।

तर त्यसका लागि प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गरेकै हुनुपर्ने जनाइएको छ । साथै, यसरी कोभिड-१९ बाट संक्रमित भई होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभई घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सम्पूर्ण खर्चसमेत प्रदेश सरकारले व्यहोर्ने मन्त्री राईले बताइन् ।

यसैगरी प्रदेश सरकारले जोखिम भत्तासमेत उपलब्ध गराउने जनाएको छ । जोखिम भत्ता र होटल आइसोलेसनको माग गर्दै केही दिनअघि विराटनगरमा रहेको कोशी कोभिड उपचार केन्द्रका स्वास्थ्यकर्मी आन्दोलित भएका थिए । स्वास्थ्यकर्मीको मागलाई सम्बोेधन गर्दै प्रदेश सरकारले ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको हो ।

प्रदेश सरकारद्वारा सञ्चालित कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, विराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रूपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरूलाई आधारभूत तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय भएको हो ।

साथै सरकारले होटल आइसोलेसनको समेत व्यवस्था गर्ने भएको छ । प्रदेश सरकारले प्रबन्ध गरेको होटलमा खाना र खाजासहितको होटल आइसोलेसनको व्यवस्था गर्ने निर्णय भएको मन्त्री राईले जानकारी दिइन् ।

प्रतिक्रिया