कुशल आईसीसीको ‘प्लेयर अफ दि मन्थ’ उपाधिको मनोनयनमा

काठमाडौं । राष्ट्रीय टिमको डेब्यु खेलमै उधुम मच्चाएका नेपालका ब्याट्सम्यान कुशल भुर्तेल अन्तराष्ट्रीय क्रिकेट परिषद आईसीसीको महिनाको उत्कृष्ट खेलाडी (‘प्लेयर अफ दि मन्थ’) उपाधीको मनोनयनमा परेका छन् ।
अप्रिल महिनाको ‘प्लेयर अफ दि मन्थ’ उपाधिको मनोनयनमा कुशलसँगै पाकिस्तानका फकार जमान र बाबर आजम पनि परेका छन् । काठमाडौंमा भएको नेदरल्याण्डस र मलेशियासँगको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी शृँखलामा उत्कृष्ट प्रदर्शन गरेपछि कुशल मनोनयनमा परेका हुन् । २४ बर्षका कुशलले प्रतियोगितामा कुशलले ४ अर्धशतक बनाएका थिए ।
Kushal Bhurtel (62) and Aasif Sheikh (54*) break the record for the highest opening partnership for Nepal in T20Is 🎉
Their 116-run stand powers 🇳🇵 to a nine-wicket win over Netherlands in the first match of the tri-series 👏
📸 @CricketNep pic.twitter.com/wW1RHKkLpQ
— ICC (@ICC) April 17, 2021
जसक्रममा उनले डेब्यूसहित लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दै विश्व कीर्तिमान बनाएका थिए । कुशल ट्वेन्टी ट्वेन्टी क्रिकेटको डेब्युपछिका लगालग तीन खेलमा अर्धशतक बनाउने पहिलो खेलाडी पनि हुन् । कुशलले नेदरल्यान्ड्सको खेलमा डेब्यू गर्दै ६२ रन बनाएका थिए । दोस्रो खेलमा मलेसियाविरुद्ध ६१ रन र तेस्रो खेलमा नेदरल्यान्ड्सँग ६२ रन बनाउँदै लगातार तेस्रो अर्धशतक पूरा गरेका थिए ।
चौथो खेलमा मलेसियासँग १६ रन मात्र बनाउन सकेका उनले त्यसपछिको खेल अर्थात प्रतियोगिताको फाइनलमा नेदरल्यान्ड्ससँग ७७ रन बनाएका थिए । कुशल ट्वेन्टी ट्वेन्टीको ब्याटिङ वरीयताको ६१ औं स्थानमा छन् । बाबर एकदिवसीय क्रिकेटको बरियतामा पहिलो र ट्वेन्टी ट्वेन्टी क्रिकेटको तेश्रो नम्बरमा छन् । कुशलले आफूलाई भोट गर्न अनुरोध गरेका छन् ।
अवार्डको विजेता आइसीसीकै प्यानल र खुला मतदानको मतका आधारमा घोषणा हुने आईसीसीले जनाएको छ । आइसीसीको प्यानलमा पूर्व खेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहने तथा आइसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला मतदानको १० प्रतिशत हुने छ ।








