यसो गरे हामी कोभिडबाट बच्न सक्छौं : डा. रवीन्द्र पाण्डे

कोभिड-१९ महामारीको दोस्रो लहर बढिरहेको छ । संक्रमण नियन्त्रण गर्न सरकारले निषेधाज्ञाबाहेक अर्को विकल्प पहिल्याउन सकिरहेको छैन । संक्रमितसँगै मृतकको संख्यासमेत बढ्दै गएको छ । जसले गर्दा आमनागरिकमा चिन्ता र मानसिक तनाव थपिएको छ । सहि सूचना नै मानसिक तनाव न्यून गर्ने प्रमुख कारक हो ।
तसर्थ, यी तथ्यलाई आत्मसात गर्यौं भने कोभिडबाट धेरै आत्तिनु जरुरी छैन । पढौं, जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेका कोरोनाबाट बच्ने र बचाउने उपायबारेको यी सुझाव :-
अहिले महामारी निकै बढेको छ। यस्तो प्रतिकूल अवस्थामा हामी सकभर घरभित्र बसौं । केही दिन वा हप्ता हामीले धैर्यता एवं आत्मानुशासन पालना गर्यौं भने आफू, आफ्नो परिवार र समुदायलाई बचाउन सक्छौं ।
भेटघाट, भोजभतेर, घुमफिर, पेसागत काम, अध्ययन आदि गर्न पनि हामीले स्वास्थ्य रक्षा गर्नुपर्छ । महामारी नियन्त्रण भएपछि हामीले स्वतन्त्र जीवनमा रमाउन पाउनेछौं ।
यसै पनि कोरोना संक्रमणको मृत्युदर नेपालमा १ प्रतिशत मात्र छ । अहिले पनि ९० प्रतिशत संक्रमित घरमै सामान्य उपचारले निको हुनुभएको छ । पोषिलो खाना, व्यायाम, तनाव व्यवस्थापन, सकारात्मक सोच आदिबाट हाम्रो रोगसँग लड्ने क्षमता बढ्छ ।
भारतमा देखिएको अक्सिजनको हाहाकार, मृतकको संख्या, अस्पताल तथा घाटको अवस्था देखेर हामी आत्तिनुपर्ने अवस्था हुँदैन । नेपालका अस्पताल संक्रमितले भरिए पनि निको हुने क्रम बढिरहेको छ । पुराना निको हुने तथा नयाँले त्यो ठाउँ पाउने क्रम चलिरहेको छ ।
त्यस्तै गाह्रो भएमा कोभिड अस्पतालका फिभर क्लिनिकमा गएर छातीको एक्सरेलगायतका परीक्षण गर्न सकिन्छ । सामान्य अवस्था भएमा घरमै बसेर चिकित्सकको सल्लाहअनुसार उपचार गर्न सकिन्छ भने गम्भीर अवस्था भए अस्पतालमा व्यवस्थापन हुन्छ ।
समाचारको आतंकले गर्दा मनमा कोरोना बोकेर आत्तिन हुँदैन ।
अत्यावश्यक कामले घरबाहिर निस्किनुपरेमा डबल मास्क लगाउने, भौतिक दूरी कायम राख्ने, भीडभाडमा नजाने तथा हातको निरन्तर सफाइ गर्नाले हामी संक्रमणबाट बच्न सक्छौं ।
उपचारभन्दा रोकथाम सजिलो र सस्तो छ । नाकमुनि वा चिउँडोमा मास्क लगाएका व्यक्तिलाई हामीले नागरिक तहबाट पनि सम्झाउन सक्छौं ।
व्यक्ति-व्यक्तिमा रोकथामको प्रयास हुने हो भने संक्रमण घट्दै जान्छ । परिस्थति जतिसुकै प्रतिकूल भए पनि मनस्थिति बलियो भयो भने हामी कोरोना भाइरसँग लड्न सक्छौं ।








