अक्सिजन, औषधि र शय्या लुकाए कडा कारवाही

काठमाडौं । सरकारले कोभिड–१९ संक्रमितको उपचारमा प्रयोग भइरहेको अक्सिजन, औषधि तथा शय्या (बेड) लुकाए कडा कारवाही गर्ने भएको छ । महामारीको अवस्थामा अक्सिजनको उपलब्धता सीमित छ ।

त्यस्तै, अस्पतालहरुको शय्या क्षमता पनि सीमित छ । यस्तो अवस्थामा यी आवश्यक चिजहरु लुकाउने तथा कृत्रिम अभाव सिर्जना गर्न खोजिए उपचार प्रभावित हुने भएकोले अनुगमन गरेर दाषी देखिए कारावही गर्ने तयारी गरेको हो ।

अब अस्पतालहरुले आफूसँग रहेका र प्रयोग भएका नभएका शय्याको संख्याको दैनिक विवरण स्वास्थ्य मन्त्रालयमा पठाउनु पर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् ।

‘सबै सरकारी तथा निजी अस्पतालले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्नेछ’ उनले भने, ‘कुनै अस्पतालले विवरण पूरा नपठाई शैया लुकाएको भेटिएमा कारबाही हुनेछ ।’

अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइने

प्रधानमन्त्री ओलीले ठूला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्टको स्थापना गरिने बताए । ‘सञ्चालनमा नआएका अक्सिजन प्लान्टलाई शीघ्र मर्मत गरी सञ्चालनमा ल्याइनेछ,’ उनले भने, ‘लिक्विड अक्सिजनको अवैध निर्यात गर्नेलाई कडा कारबाही गरिनेछ । लिक्विड अक्सिजन तथा अक्सिजन जेनेरेटर खरिद गरेर मौज्दात राखिने छ ।’

देशभरका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी अन्य क्षेत्रमा आपूर्ति गर्न रोक लगाइएको समेत उनले बताए ।

त्यस्तै, कोभिडको उपचारमा प्रयोग हुने एन्टिभाइरल औषधि तथा अन्य जीवनरक्षक औषधि प्रत्येक अस्पतालले मौज्दातमा राख्नुपर्ने व्यवस्था गरिएको छ । यस्ता औषधिको कृत्रिम अभाव सिर्जना गर्ने र कालोबजारी गर्नेलाई कडा कारबाही गरिने उनले बताए ।

 

प्रतिक्रिया