भारत आइपुग्यो साढे एक लाख रुसी स्पुतनीक भी खोप

हैदराबाद । कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको भारतलाई रुसले कोरोना भाइरसविरुद्धको खोप सहयोग गरेको छ ।

रुसले कोरोना भाइरसविरुद्ध आफैंले विकास गरेको स्पुतनीक भी खोप एक लाख ५० हजार मात्रा भारतलाई प्रदान गरेको हो ।

रुसले भारतलाई सहयोगस्वरुप पठाएको खोप शनिबार भारत आइपुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

रुसले अहिले प्रारम्भिक चरणको मात्रै पठाएको र अरु पनि पठाउने तयारी भइरहेको रुसी पक्षले बताएको भारतीय अधिकारीहरुको भनाइ छ ।

खोपको अर्को मात्रा आगामी केही हप्तापछि आउने उनीहरुले बताएका छन् । रुसबाट पठाइएको खोप भारतको हैदराबादमा झारिएको हो ।

भारतमा कोरोना भाइरसबाट संक्रमित भएकाहरूलाई स्पुतनीक भी खोप लगाउने अनुमति यसअघि नै सरकारी निकायले दिइसकेको छ ।

भारतमा योसँगै तीनओटा खोप प्रयोगका लागि अनुमति दिइएको छ । अरु दुईओटा खोप कोभ्याक्सीन र कोभिसिल्ड यसअघिदेखि नै प्रयोग पनि हुँदै आएको थियो ।

भारतमा कोरोना भाइरसको महामारी दिन प्रतिदिन बढेपछि भारतको आन्तरिक स्रोत साधनले मात्रै थेग्न नसक्ने अवस्था सिर्जना भएको छ ।

महामारीसँग जुध्नका लागि भारतलाई गाह्रो भएपछि अमेरिका, बेलायत, जापान, रुसलगायतका धेरै देशले भारतलाई विभिन्न प्रकारका सहयोगहरु प्रदान गरेका छन् ।

प्रतिक्रिया