पश्चिम बंगालमा ममता बनर्जी तेस्रो पटक मुख्यमन्त्री बन्दै !

नयाँ दिल्ली । भारतको पश्चिम बंगालमा ममता बनर्जी तेस्रोपटक मुख्यमन्त्री बन्ने करिब पक्का भएको छ । पश्चिम बंगाल विधान सभा निर्वाचनमा जित्ने पक्का भएपछि विभिन्न सञ्चार माध्यममार्फत् उनलाई बधाई तथा शुभकामना दिइरहेका छन् ।
हालसम्मको मतगणनाअनुसार ममता बनर्जी तेस्रो पटक मुख्यमन्त्री बन्न सक्ने अनुमान लगाइएको छ । तर चुनावी नतिजामा भने भारतीय जनता पार्टी (बिजेपी) र अल इन्डिया तृणामूल कांग्रेसबीच थोरैमात्र मतको अन्तर रहेको छ ।
असममा भने एग्जिट पोलका अनुसार बिजेपी नै सत्तामा टिरहने भएको छ भने पुद्दुचेरीमा पनि ३० सिटका लागि मतगणना जारी छ । यहाँ पनि एनआर कांग्रेसले नेतृत्व गरेको नेशनल डेमोक्रेटिक एलायन्सको जीतको चर्चा सुनिन थालेको छ ।
भारतमा कोरोना महामारीका बीच चार राज्य र एक केन्द्र शासित प्रदेशको कुल ८२२ विधानसभा सिटका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ ।
पश्चिम बंगालमा मार्च २७ देखि अप्रिल २९ को बीचमा आठ चरणमा गरिएको निर्वाचनको मतगणना जारी रहेको हो ।








