चार जना अन्तरिक्ष यात्रीको पृथ्वीमा सकुशल अवतरण

वासिङ्टन । स्पेस–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्षयात्रीले आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन् । अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरुको पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरिएको हो 4।

ती अन्तरिक्षयात्रीहरू अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रमा ६ महिना रहेका थिए । उनीहरू जलक्षेत्रमा अवतरण गर्नासाथ डुङ्गा मार्फत् उनीहरुलाई बाहिर निकालिएको थियो ।

नासाले चारै जना अन्तरिक्षयात्रीले आफूहरू ठीक रहेको बताएको जनाएको छ ।

फ्लोरिडाको तटीय गल्फ अफ मेक्सिकोमा आइतबार बिहान २ बजेर ५६ मिनेटमा उनीहरू अवतरित भएका थिए । उनीहरुलाई अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा आइपुग्न साढे ६ घण्टा लागेको नासाले जनाएको छ ।

गत नोभेम्बरमा मिचेल हप्किन्स, भिक्टर ग्लोभर, शानोन वाल्कर र जापानका सोइची नोगुची अन्तरिक्षमा गएका थिए । उनीहरु अन्तरिक्षमा जाँदा एलन मस्कले निर्माण गरेको स्पेस-एक्सबाट प्रस्थान गरेका थिए ।

सात जना अन्तरिक्ष यात्रीहरू अझै पनि अन्तरराष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) मै रहेका छन् । उनीहरू गत साता स्पेस–एक्समार्फत् नै अन्तरिक्षमा पुगेका हुन् ।

प्रतिक्रिया