लुम्बिनीमा जसपाका मन्त्री भन्छन्- एमालेसँग समझदारी छ, हामी पनि मन्त्री हुनेछौं

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै त्यहाँको राजनीतिक परिदृष्य बदलिएको छ ।

पुनः आफैं मुख्यमन्त्री बन्ने तयारीसहित राजीनामा दिएका पोखरेलले त्यसको प्रक्रिया पनि शुरु गरिसकेका छन् ।

योसँगै प्रदेशमा एमालेको एकल सरकार बन्ने चर्चा व्यापक बनेको छ । एमाले संसदीय दल लुम्बिनी प्रदेशको बैठकले पोखरेललाई पुनः मुख्यमन्त्रीका रुपमा अघि सार्दै एमालेको एकल सरकार बनाउने निर्णय गरिसकेको छ ।

यससँगै, पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेका जसपाका चार नेताको भने बिचल्ली भएको छ । गत ६ गते मन्त्रीको शपथ ग्रहण गरेका उनीहरुको मन्त्री पद १० दिन पुग्दानपुग्दै गुमेको छ । उनीहरुलाई कारबाही गरेपछि एमालेले आफ्ना ४१ जना सांसदलाई कायम राख्न सके तत्काल एमालेको मात्र सरकार बन्ने सम्भावना बढेको छ । तर, मन्त्री बन्नका लागि दलको कारबाही सहन र सांसद पद गुमाउनसमेत तयार भएका जसपाका चारमध्येका एक नेता भौतिक पूर्वाधारमन्त्री सन्तोषकुमार पाण्डेय भने अब बन्ने सरकारमा पनि आफूहरू मन्त्री हुने दाबी गर्छन् ।

मकालु खबरसँगको कुराकानीमा मन्त्री पाण्डेयल भने‚ ‘मुख्यमन्त्रीज्यू र हाम्रो बीचमा एकखाले सहमति भएको छ । जसअनुसार अब बन्ने सरकारमा पनि हामी मन्त्रीकै हैसियतमा रहनेछौँ ।’

एमालेको एकल सरकार बन्ने चर्चालाई भने मन्त्री पाण्डेयले बाहिर फिँजाइएको हल्लाको रुपमा मात्रै बुझ्न आग्रह गरे । ‘एकल सरकार भनेको माओवादीरहित सरकार भनेको हो । जसपारहित भनेको होइन, हामी त अहिले पनि मन्त्री नै छौँ, पछि पनि मन्त्री नै हुनेछौं ।’ उनले कुराकानी टुंग्याउँदै भने ।

प्रतिक्रिया