जसपा र माओवादीको किचलोको फाइदा मुख्यमन्त्री पोखरेललाई

बुटवल । लुम्बिनी प्रदेशमा वर्तमान सरकारका पक्षमा लागेको भन्दै जनता समाजवादी पार्टी (जसपा) र नेकपा माओवादी केन्द्रले आफ्ना सांसदलाई कारबाही गरेको फाइदा मुख्यमन्त्री शंकर पोखरेल र सत्तारुढ एमालेलाई हुने भएको छ ।

यो प्रदेशमा जसपाले चारजना र नेकपा माओवादी केन्द्रले दुईजना सांसद निष्काशन गरेको छ । यसपछि प्रदेशसभामा एमालेका मात्र सांसदले बहुमत पुग्ने अवस्था सिर्जना भएको छ । यसको फाइदा मुख्यमन्त्री पोखरेल र एमालेलाई हुने भएको हो ।

यहि रणनीति अनुसार आफूमाथिको अविश्वास प्रस्तावमा प्रदेशसभामा छलफल हुने दिन आइतबार बिहानै मूख्यमन्त्री पोखरेलले पदबाट राजिनामा दिएका थिए । उनको राजिनामा स्वीकृत भइसकेको छ ।

त्यसलगत्तै एमालेले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको एमालेको लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा फेरि पोखरेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

८१ सदस्यीय प्रदेशसभामा एमालेका ४१ सांसद छन् । जसमध्ये ३९ जना ओली पक्षका र दुईजना नेपाल-खनाल पक्षका छन् । नेपाल खनाल पक्षका दलको बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु विष्णु पन्थी र रमा घर्तिमगर पनि बैठकमा सहभागी थिए ।

प्रतिक्रिया