सरकारले हातखुट्टा छाडेको छैन : स्वास्थ्यमन्त्री

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले कोभिड-१९ का सङ्क्रमितका उपचारमा सरकारले हातखुट्टा नछाडेको बताएका छन् ।

‘बाहिर प्रचार गरेजस्तो सरकारले हातखुट्टा छाडेको छैन । सरकार जिम्मेवारीका साथ कर्तव्यपालनामा अगाडि बढेको छ,’ एक भिडिओ सन्देश जारी गर्दै मन्त्री त्रिपाठीले भनेका छन् ।

मन्त्रालयले शुक्रबार स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी सङ्क्रमण बढेकाले अस्पतालमा राखेर हेरचाह गर्न शय्या उपलब्ध गराउन नसकिने भइसकेको बताएपछि उनले सरकार जनताका साथमा रहेको बताएका हुन् । मन्त्री त्रिपाठीले संक्रमितको उपचारको सबै जिम्मेवारी सरकारले लिएको बताउँदै संक्रमणबाट आतंकित हुने अवस्था नरहेको जनाए ।

सरकार आफ्नो प्रतिबद्धता पूरा गर्न तयार रहेको बताउँदै उनले नेपाली जनताको जीवन जोगाउन हरप्रयास गरिरहेको समेत बताए । ‘कोभिड-१९ को दोस्रो लहर गम्भीर र जटिल रहे पनि हामी आतंकित हुने स्थितिमा छैनौँ । सरकार हरेक उपचारको विधि, उपचारका लागि अस्पताल थप्ने काम गरिरहेको छ,’ उनले भने ।

उनकाअनुसार संक्रमणको उपचारका लागि काठमाडौँ उपत्यकामा एक हजार शय्याको व्यवस्था गरिएको छ । ‘सरकार अक्सिजन जोहो गर्नेदेखि लिएर संक्रमितको उपचार गर्न दत्तचित्त भएर लागेको छ,’ उनले भने । संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने औषधि दुईतीन दिनभित्र नेपालमा आपूर्ति गरिने उनको भनाइ छ ।

मन्त्री त्रिपाठीले एकैचोटि संक्रमणको दोस्रो लहर आएको र दोस्रो भेरियन्ट आक्रमणकारकी रहेकाले हठात संख्या बढ्दो रहेको जनाए । उनले संक्रमण रोकथाम र नियन्त्रणमा आफ्नो व्यवस्थापनमा कहीँकतै कमजोरी भएको भए नैतिक जिम्मेवारीसमेत लिइने स्पष्ट गरेका छन् ।

नेपाली जनताको जीवन महत्वपूर्ण भएकाले नै संक्रमण रोकथामका लागि निषेधाज्ञा गरिएको उनको भनाइ छ । ‘संक्रमणको दर घटाउनमा यसले मद्दत पुर्‍याउने छ । महामारीका लागि रोकथाम महत्वपूर्ण विषय हो । उपचार दोस्रो हो । त्यसैले रोकथामका लागि निषेधाज्ञा गरिएको हो,’ उनले भने ।

सबैलाई निषेधाज्ञा पालना गरेर संक्रमण रोकथाम र नियन्त्रण गर्न सहयोग गर्न र सुरक्षाका सबै मापदण्ड अपनाउनसमेत उनले आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया