चितवनलाई पराजित गर्दै धनगढी शीर्ष स्थानमा

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलअन्तर्गतको शनिवारको खेलबाट धनगढी शीर्ष स्थानमा उक्लिएको छ । त्रिपुरेश्वरस्थित रंगशालमा सम्पन्न खेलमा चितवनलाई ३–० ले हराउँदै धनगढी शीर्ष स्थानमा उक्लिएको हो ।

धनगढीको जितमा निशान लिम्बु, ओलावाले आफिज र बुद्ध बल तामाङले योगदान गरे । पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफबाट धनगढीले अपराजित खेल लेख्यो, फलतः ऊ शीर्ष स्थानमा उक्लियो ।

जितसँगै धनगढीले ४ खेलमा ७ अंक जोडेको छ । धनगढीको यो दोस्रो जित हो । पहिलो खेलमा धनगढी विराटनगर एफसीसँग ३–० ले पराजित भएको थियो । तर, दोस्रो खेलमा धनगढीले काठमाडौं रेजर्सलाई ३–० ले हराएको थियो ।

तेस्रो खेलमा भने धनगढी ललितपुर सिटी एफसीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो । चितवनको यो पहिलो हार हो । चितवनले ३ खेलमा २ अंक जोडेको छ । चितवनले पहिलो खेलमा ललितपुरसँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रतिक्रिया