मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

ऊ एक मजदुर !

ऊ एक मजदुर !

जन्मँदै बगरमा जन्मिएको हो ऊ
बगरमै कुँदिए पनि
नियतिले उछिट्टयाएका ढुङ्गाहरुसङ्ग
पुस्तेनी नाता छ उसको
ऊ अब्बल छ
ढुङ्गासङ्ग युगान्तकारी नाता गाँस्न,
किनभने आमाको गर्भबाट बाहिरिएपछिका हरेक
पहिला स्पर्शहरु उराँठ बगरका
कुरुप लाग्ने तर सुन्दर बन्न सक्ने
यावत् ढुङ्गाहरुसङ्ग जोडिएको छ ।

यिनै ओझिलो परिचय बोकेर
युगौंदेखि बाँचिरहेको ऊ
ढुङ्गा, माटो र पसिनासङ्गको
असली रङ, रुप र सम्बन्धमा बाँचेको अनि हाँसेको एक श्रमिक हो ।

ऊ अस्तित्वमा नआउँदैदेखि
परिवर्तनका अनेकौं महासंग्राममा
पटक पटक पर्चामा लेखियो, आदर्शमा समेटियो
आमाको गर्भबाट बाहिर निस्कनासाथ
उसको पहिलो स्पर्श
चिसो भुईं, तारामण्डलको छानो, रित्तो खल्ती र भोको पेटसङ्ग भयो,
उसको पुस्तेनी परिचय बन्यो पसिना
एकै छाक पनि ढाकर, र नाम्लोले ढाड र तालु नखियाइ टरेन उसको ।
उसले सोचेन वा सोच्नै सकेन
पसिनाको वास्ना बिनाको भोटो कछाडको दुनियाँ,
देख्न चाहेन वा पाएन
असङ्ख्य ठेला र चिरा नपरेका हत्केला र पैतालाका स्वरुपहरु,
ऊ जुधिरह्यो आफ्नै नियतिसङ्ग
रचिरह्यो भोक, तिर्खा, अभाव भित्रैबाट
श्रमिक हुनुको अलिखित इतिहास ।

ऊ युगौंदेखि मञ्चित भैरह्यो, खोक्रा आदर्शका रङ्गमञ्चहरुमा
पात्र बनाएर उसलाइ थुप्रै युगान्तकारी नाटकहरु रचिए
ढाल बनाएर उसैलाई थुप्रै युद्धहरु जितिए
उसका ठेला भरिएका हातले ‘उन्मुक्ति’ र ‘समृद्धि’का लागि मसाल उठाए
तर उसको धरातल झन् भासियो ।

व्यवस्था र अरुको अवस्थामा आमूल परिवर्तन आयो
बिडम्बना ! उसको अवस्था बदलिएन
उसको नाममा मागेको सिदाले माग्नेहरुका कमन्डलुहरु सुनका बने,
तर उसको एउटा पेट, एउटा आङ कहिल्यै भरिएन…
देश बदलियो, संसार बदलियो नबदलिएको त के छ र ?
उसको नियति, दैनिकी र अवस्था बाहेक ।

वर्षेनी खडेरी पर्छ, झरी पर्छ, महामारी आउँछ,
उसलाई नै सताउँछ, उसकै परिवार र आफन्तलाई लुछेर लान्छ
तर अफसोस् ! उसको गरिबी लाँदैन कहिल्यै
उसको भोगाइ र दैनिकी बगाउँदैन कहिल्यै ।

ऊ सम्झिन बाध्य छ– उसले बाँझो फुटाएका खेतबारीहरु
ऊ सम्झिन बाध्य छ–उसले समाएका पम्पलेट पर्चा र उठाएका मुठ्ठीहरु
ऊ सम्झिन बाध्य छ– उसले पाएका झुटा आश्वासनहरु
कस्तो पसिना हो उसको कहिल्यै दुःख बगाउन नसक्ने
कस्तो यात्रा हो उसको भोकैतिर्खै कोषौं पर पुग्नुपर्र्ने
कस्तो गन्तव्य हो उसको एक जीवन मात्र होइन पुस्तौँ हिँडेर पनि कहिल्यै नपुगिने
यी सबैबाट टाढा जाने उन्मुक्ति पाउने
न कुनै अस्त्र छ
न कुनै संयन्त्र नै ।

यहि यथार्थका बीच पनि ऊ आफैंलाई धन्य ठान्छ, र गम्छ…
पसिनाको सही मोल पो पाइनँ त
तर इमान त बेचेको छैन
कसैको श्रम शोषण गरेर मोटाएको छैन
बगाएर पसिना र गरेर श्रम बाँचेको छ,
ऊ यस मानेमा आफैंमा गौरब गर्छ
ऊ एक मजदुर,
जो, ‘म….दुर’ भैसकेको छ !

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com