सामाजिक सुरक्षा नीतिकाे व्यवहारिक समाधान खोजौं : अध्यक्ष गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले श्रम सम्बन्ध सुधारको दिशातिर अघि बढिरहेको भए पनि दिगो र भरपर्दाे बनाउन अझै धेरै काम गर्न बाँकी रहेको बताएका छन् । अध्यक्ष गोल्छाले १३२ औं अन्तर्राष्ट्रिय मे दिवसको अवसरमा संयूक्त ट्रेड यूनियन समन्वय केन्द्रद्वारा शनिबार आयोजित एक कार्यक्रममा यसतो बताएका हुन् ।

श्रम सम्बन्धलाई दिगो र भरपर्दो बनाउन लगानी प्रवद्र्धन, रोजगारी सिर्जना, उद्यमशीलता विकास, श्रम सम्बन्ध सुधार जस्ता विषयलाई मुख्य प्राथमिकतामा राखेर जानुपर्ने कुरामा जोड दिए ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको प्रभाव र पीडाबाट मुक्ति पाउने आशा पलाएको अवस्थामा कोरोना संक्रमणको दोस्रो लहरले चिन्ता थपेको बताए । अध्यक्ष गोल्छाले अहिले दैनिकी सञ्चालन र मानव जीवनको सुरक्षा अत्यन्त चूनौतीपूर्ण बनेको अर्थतन्त्र र आर्थिक गतिविधि अवरुद्ध हुने स्थिति सिर्जना भएकाले सबै क्षेत्रबाट सहकार्य हुनुपर्ने बताए ।

यस्तो स्थितिमा हाम्रा प्रयास र पहल अर्थतन्त्र, उद्योग व्यवसाय र रोजगारीमा पर्न सक्ने प्रभावलाई न्यूनिकरण गर्न केन्द्रीत हुनुपर्ने बताए ।

‘विश्वभरी नै कोरोना संक्रमणको प्रकृति हेर्दा चाँडै नियन्त्रणमा आउने संभावना छैन,’ उनले भने, ‘यस्तो स्थितिमा जीउ ज्यानको सुरक्षाको साथै आर्थिक गतिविधिलाई चलायमान बनाई राख्नु पर्ने चुनौती र बाध्यता हामी सबैले महशुस गरेका छौं ।’

संक्रमण नियन्त्रण गर्न सरकारले गरेको निषेधाज्ञा र लकडाउन जस्ता उपायले अर्थतन्त्र र उद्योग व्यवसाय संचालनमा संकुचन आउने र यसवाट रोजगारी समेत प्रभावित भई थप संकट थपिने त्रास बढेको बताए ।

‘हामीले स्वास्थ्य सुरक्षाको विषयप्रति संवेदनशील भई आर्थिक गतिविधि सञ्चालन गर्न आग्रह गरेका छौं,’ अध्यक्ष गोल्छाले भने, ‘हाम्रो सामू रहेको यो चुनौतीपूर्ण घडीमा सर्तकता पूर्वक जोखिम न्यूनिकरणका उपाय अनिवार्य रूपमा पालना गरी हाम्रो काममा निरन्तरता दिनुको विकल्प छैन ।’

उद्योगको विस्तार र लगानी बढ्न नसकेको, ७÷८ लाख भारतीय कामदार नेपालमा काम गरिरहेको उनले बताए ।

सामाजिक सुरक्षा योजना कार्यान्वयनमा समस्या देखिएको भन्दै अध्यक्ष गोल्छाले यसको व्यवहारिक समाधान खोजिनुपर्नेमा जोड दिए ।
महामारीवाट सिर्जित यो विषम परिस्थितिमा अझ बढी समझदारी एवं सुजवुझका साथ सहकार्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया