विराटनगर र झापामा निषेधाज्ञा जारी

  • सुमन सुस्केरा

विराटनगर । कोरोना संक्रमण अत्याधिक बढेसँगै मोरङमा शनिवार रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ। कोरोना संक्रमणको दोश्रो लहर कोभिड भेरिएन्ट दैनिक बढिरहेकाले त्यसको रोकथाम तथा नियनत्रणको लागि भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा जारी गरेको हो । कोभिड संक्रमणको उच्च दर रहेको विराटनगर महानगरपालिकासहित बुढिगङ्गा गाउँपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकालाई लक्षित गरी निषेधाज्ञा जारी गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले जारी गरेको आदेशमा जिल्लाका बढी प्रभावित विराटनगर महानगरपालिका, बुढिगङ्था गाउँपालिका, जहदा गाउँपालिका, कटहरी गाउँपालिकाका वडा नं १, २, ३, र ४ तथा भारत र सुनसरी जिल्लासँग जोडिएको सीमा क्षेत्रहरुमा निषेधाज्ञा हुने आदेशमा भनिएको छ ।

पहिलो चरणमा यो निषेधाज्ञा शनिवार राति १२ बजेदेखि ७ दिनको लागि लागू गरिएको मोरङ प्रजिअ निरौलाले जानकारी दिए । निषेधाज्ञाको समयमा औषधि, खाद्यवस्तु तथा अत्यावश्यक वस्तु वा सेवा खरिदबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्कन पाउने जनाइएको छ । खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफूल, दुधडेरीलगायत अत्यावश्यक सामाग्री आपूर्ति गर्ने पसल, वयवसायहरु बिहान १० बजेसम्म संचालन गर्न पाउने प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

निषेधाज्ञाको अवधिमा बजार, सब्जीमण्डी, होटल, रेष्टुराँ, सैलुन, ई–रिक्सा संचालन भने गर्न पाउने छैनन् । निर्माण सामाग्री खरिदको हकमा भने बिहान १० बजेसम्म खरित गरिसक्न भनिएको छ । दैनिक रुपमा गरिने नित्य पूजा, प्रार्थना, बाहेकका धार्मिक तथा साँस्कृतिक कार्यहरु, मेला, जात्रा, चाडपर्व, हाटबजार, महोत्सव, भेला तथा अन्य सामूहिक कार्य गर्न रोक लगाइएको छ ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सेवामा प्रयोग हुने विद्युत्, खानेपानी, सञ्चार, बैंक, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, पशुआहार ढुवानीका साधन, एम्बुलेन्स, शव वाहन, सरकारी नम्बरका साधनहरुबाहेक अन्य सञ्चालन नगर्न भनिएको छ । छिमेकी मुलुक भारतसँग हुने आवागमन पूर्णरुपमा बन्द गर्ने, रातिको समयमा ८ बजेदेखि विहान ५ बजेसम्म हिडडुल गर्न नपाइने, उपभोग्य वस्तुको कृतिम अभाव सिर्जना गरे कानूनबमोजिम कारबाही हुने, होटल रेष्टुराँहरु होम प्याक तथा होम डेलिभरी प्रयोजनका लागि मात्र खुला रहने छन् ।

यस्तै उता झापामा पनि वैशाख १९ गते रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाद्धारा जारी गरिएको निषेधाज्ञा १९ गते राति १२ बजेदेखि २६ गतेसम्म लागू हुनेछ ।

No description available.

प्रतिक्रिया