मनाङ्गेलाई मन्त्री, अझै जोगिने निश्चित छैन मुख्यमन्त्रीको कुर्सी

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई युवा तथा खेलकुदमन्त्री बनाएका छन् । प्रदेशमा अल्पमतमा परेर ढल्न लागेको सरकार जोगाउने कसरतस्वरुप मन्त्रालय फुटाएरै मनाङ्गेलाई मन्त्री बनाउने निर्णयमा पुगेका हुन् मुख्यमन्त्री गुरुङ ।

यो निर्णयको चौतर्फी र चर्को विरोध शुरु भइसकेको छ । विरोध हुने कुरा एमालेका बाठा नेता गुरुङले नबुझ्ने कुरै भएन । तर, उनी ढल्न लागेको सत्ता जोगाउने मुल्यमा यो अबगाल सहने निष्कर्षमा पुगेका हुन् सायद ।

मनाङ्गे प्रदेश सभामा शुरुमा एमालेबाट उम्मेदवार बन्ने तय भएपनि चौतर्फी विरोधपछि उनलाई स्वतन्त्र उम्मेदवार भन्ने देखाए पनि एमालेले उनैलाई मतदान गराएको थियो । त्यहाँ एमालेले अर्काे उम्मेदवार कोही उठाएको थिएन ।

आफ्नो पक्षमा बहुमत पुर्याउन गण्डकी प्रदेशमा एकातिर एमाले र अर्कातिर कांग्रेस माओवादीबीच कडा रस्साकस्सी चलिरहेको छ । उनीहरुलाई एक एक सांसदको मत अमुल्य छ । किनभने ६० सदस्यीय प्रदेश सभामा एमालेको २७ सिट छ । मनाङ्गेले समर्थन गर्दा उनको पक्षमा २८ सांसद भएका छन् ।

योभन्दा ठूलो कुरा मनाङ्गेले विपक्षी दलहरुको पक्षमा मतदान गरे मुख्यमन्त्री गुरुङको सत्ता पल्टिने निश्चितजस्तै हुन्थ्यो । यसैकारण पनि उनी मनाङ्गेलाई मन्त्री बनाउने राजनीतिक दाउपेच खेल्ने निष्कर्षमा पुगेको हुनुपर्छ । मनाङ्गेले अब सरकारको विपक्षमा जाने बताएपछि पनि मुख्यमन्त्री गुरुङलाई दबाब परेको थियो ।

अविश्वास प्रस्ताव ल्याएका कांग्रेस र माओवादीले पनि स्पष्ट बहुमत पुर्याउन सकिसकेका छैनन् । प्रदेशमा कांग्रेससँग १५, माओवादीसँग १२, जनमोर्चासँग ३ र जसपासँग २ सांसद छन् । माओवादीका एकजना सभामुख भएकाले ११ मत मात्र छ । जनमोर्चाले अविश्वासको पक्षमा मतदान गर्ने भनेपनि एकजना सांसद अचानक सम्पर्कविहीन भएपछि बुधवारबाट थप संशय बढेको छ । भलै उनले बिहीबार आफू पार्टी निर्णयकै पक्षमा रहेको बताएका भने छन् । जसपाका दुई र जनमोर्चाका तीन सांसदले पनि मत दिए मात्र अविश्वासको प्रस्ताव पारित हुनेछ ।

एकजनाले मात्र तलवितल गरे प्रस्ताव पारित हुँदैन । यस्तै गण्डकीमा कर्णालीमा जस्तो ‘फ्लोर क्रस’को सम्भावना अत्यन्तै न्यून मात्र छ । गण्डकीमा नेपाल–खनाल पक्षका एकजना मात्र सांसद छन् ।

सरकार ढाल्न वा नयाँ बनाउन ३१ मत चाहिन्छ । त्यसैकारण जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई नक्कली बिरामी बनाएर अस्पताल भर्ना गरिएको विषयमा एमाले विवादमा तानिएको छ ।

शाही नै निर्णायक 
तुलनात्मक रुपमा अनुशासित मानिने राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेपनि सांसद खिमविक्रम शाही अचानक हराएपछि हिजो खैलाबैला नै मच्चिएको थियो । पछि उनी चरक अस्पतालको आइसीयूमा ‘बिरामी’ का रुपमा भेटिएपछि उनीप्रति अनेकौं शंका भइरहेका छन् । यसैबीच, सांसद शाहीले बिहीबार विज्ञप्तिमार्फत आफू पार्टी र संसदीय दलको बैठकमा भएको सहमतिमै अडिग रहेको भन्दै पक्षमै मतदान गर्ने बताएका छन् ।

मुख्यमन्त्री गुरुङले यसअघि जसपाका दुई सांसदलाई फकाउने प्रयास गरेका थिए । त्यसमा उनले सफलता पाउन सकेका छैनन् । संघीय सरकारले हिजो विभिन्न मुद्दा खेपिरहेका जसपाका १२० जना नेता कार्यकर्तालाई रिहा गर्ने निर्णय गरेपछि एमाले र जसपा थप नजिकिएको अनुमान गरिएको छ । तैपनि गण्डकीमा तत्कालै जसपाको समर्थन एमालेले पाउने सम्भावना छैन । किनभने प्रदेशका दुवै जना सांसद डा. बाबुराम भट्टराई निकट हुन् । र भट्टराई ओलीसँग तत्कालै सत्ता साझेदारी गर्ने मूडमा छैनन् ।

प्रतिक्रिया