एकैदिन ३५ संक्रमितको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३५ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसहित हालसम्म नेपालमा ३ हजार २४६ जनाको संक्रमितको मृत्यु भएको हो ।
त्यस्तै बिहीबार थप ४९ सय २८ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । देशभर गरिएको १२ हजार ५९७ पिसिआर परिक्षणका क्रममा ४८३१ र ९६३ जनामा गरिएको एन्टीजेन परिक्षणका क्रममा ९७ जनामा कोरोना पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख १७ हजार ५३० पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप ८८८ संक्रमित कोरोनामुक्त भएका छन्, नेपालमा हालसम्म दुई लाख ८० हजार १६७ जना कोरोनामुक्त भएका छन् ।
हाल ३४ हजार ११७ सक्रिय संक्रमित आइसोलेशन र ५९ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २४ लाख ५८ हजार ५६५ वटा पिसिआर भएको मन्त्रालयले जानकारी दिएको छ ।









