निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले सरकारले लागू गरेको निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको जनाएको छ ।
निषेधाज्ञाको पहिलो दिन कार्यालय समयमा केही भीड देखिएपनि समग्रमा निषेधाज्ञा पूर्ण रुपमा कार्यान्वयन भएको प्रशासन कार्यालयले जनाएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले राजमार्गमा होल्डमा परेका यात्रुहरुलाई सहजीकरण गर्दै गन्तव्य स्थलमा पुर्याइसकिएको बताए ।
उनले कलंकी र बसपार्कमा पनि अलपत्र परेको यात्रु नभेटिएको भएपनि कोही यात्रु अलपत्र परेको पाइए उद्धार गरिनेसमेत जानकारी दिए ।
त्यस्तै प्रशासन कार्यालयमा पासका लागि भीड भएको भन्दै उनले अत्यावश्यक कामका लागि प्रहरीले सहजीकरण गर्ने र पासका लागि प्रशासन कार्यालय आउनु नपर्ने बताए ।
कोरोना संक्रमितको संख्या बढेपछि सरकारले वैशाख मसान्तसम्म उपत्यकामा निषेधाज्ञा लागू गरेको छ ।








