दिक्तेलमा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना

काठमाडौं । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३२ शय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरिएको हो ।
नगरपालिकाका प्रमुख दीपनारायण रिजालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा निर्माण गरिएको आइसोलेसन केन्द्रको उद्घाटन गर्दै केन्द्रमा तत्काल अक्सिजन सिलिण्डरको व्यवस्थापन गरिने बताए ।
नगरपालिकाले नेपाली सेनाको सहकार्यमा निर्माण गरेको केन्द्रमा २७ पुरुष र पाँच महिला गरी कुल ३२ संक्रमितको उपचार गर्न सक्ने बताइएको छ ।
जिल्लास्थित कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको निर्णयानुसार नगरपालिकाले सो केन्द्रको स्थापन गरेको हो ।
केन्द्रले जिल्लाका दश स्थानीय तहमध्ये नगरपालिकालाई अक्सिजनसहित ३० शय्या र गाउँपालिकालाई २० शय्याको आइसोलेसन केन्द्र स्थापना गर्न निर्देशन दिएको थियो ।








