महासंघद्वारा छात्रवृत्ति अध्ययनका लागि आवेदन आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले स्नातकोत्तर अध्ययनका लागि ४ जनालाई छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

महासंघका सदस्य पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ महासंघ केन्द्र र काठमाडौंस्थित पोलिगन कलेजबीच प्रत्येक वर्ष महासंघले सिफारिश गरेका चार जनालाई पत्रकारिता विषयमा स्नातकोत्तर अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्ने सहमतिअनुसार छात्रवृत्तिका लागि आवेदन खुलेको हो ।

उक्त सहमतिअनुसार महिला, दलित, मधेशी, अल्पसंख्यक तेस्रो लिंगी र मुस्लिम वा अन्य सिमान्कृत समुदायकाले पढ्न पाउने महासंघले जनाएको छ ।

अध्ययनका लागि विद्यार्थीले कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने अथवा कुनै पनि विषयमा स्नातकोत्तर तहमा अध्ययन गरिरहेको हुनु नहुने र यसअघि नै पत्रकारिताबाहेक अन्य विषयमा स्नातकोत्तर अध्ययन गरेको भएमा मात्र पढ्न पाउने जनाइएको छ ।

पढ्न इच्छुक विद्यार्थी अनिवार्य रुपमा महासघंको सदस्य हुनुपर्ने महासंघले बताएको छ ।

स्नातकोत्तर कोर्सको जम्मा शुल्क २ लाख ३२ हजार ८ सय रुपैयाँमध्ये २ लाख रुपैयाँ कलेजले छात्रवृत्ति दिने महासघंले जनाएको छ ।

साथै बाँकी रकम ३२ हजार ८०० रुपैयाँ विद्यार्थी स्वयंले व्यहोर्नुपर्ने महासंघले जनाएको छ । पढ्न चाहने विद्यार्थीले उक्त प्रदेश र शाखाअन्तर्गत इच्छुक महासंघका सदस्य पत्रकारहरूको नाम १९ गतेभित्र महासंघको इमेलमा पठाउन सक्नेछन् ।

प्रतिक्रिया