निषेधाज्ञामा नर्भिकद्वारा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले निषेधाज्ञाको अवधिमा गम्भीर अवस्थाका बिरामीहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गर्ने भएको छ ।

अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहका अनुसार निषेधाज्ञामा सार्वजनिक तथा निजी यातायात ठप्प भएको अवस्थामा स्वास्थ्य जटिलताका कारण सर्वसाधारणलाई समस्या नपरोस् भन्ने उद्देश्यले अस्पतालले गम्भीर अवस्थाका बिरामीका लागि निःशुल्क एम्बूलेन्स सेवा संचालनको घोषणा गरिएको बताए ।

स्वास्थ्यमा गम्भीर समस्या भई अचानक अस्पताल भर्ना हुनुपर्ने बिरामीहरुलाई लिन अस्पतालले घरैसम्म निःशुल्क एम्बुलेन्स पठाइदिनेछ । त्यस्ता बिरामीहरु ठीक भएपछि घरसम्मै लैजाने व्यवस्थासमेत मिलाइने सिंहले जानकारी दिए ।

यस्तो सुविधा लिनका लागि गम्भीर अवस्थाका बिरामी वा आफन्त तथा नजिकका व्यक्तिले अस्पताललाई फोन गरेर जानकारी गराउनुपर्ने उनले बताएका छन् ।

सो जानकारी पाएलगत्तै अस्पतालले निःशुल्क एम्बूलेन्स सेवाको माध्यमबाट समस्यामा परेका बिरामीहरुको तत्काल उद्धार गर्ने बताए ।

यो सुविधा काठमाडौंका बिरामीका लागि मात्रै उपलब्ध हुने कार्यकारी निर्देशक सिंहले जानकारी दिए ।

प्रतिक्रिया