नोबेलमा १५ सयमै पीसीआर परीक्षण

काठमाडौं । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले १ हजार ५ सय रुपैयाँमै पीसीआर परीक्षण गर्न थालेको छ । कोरोना संक्रमण पुनः बढ्न थालेका बेला पीसीआर परीक्षण शुल्क घटाएको हाे ।
सरकारले अहिले पीसीआर परीक्षणको अधिकतम शुल्क दुई हजार तोकेको छ । सरकारले तोकेको भन्दा पाँच सय रुपैयाँ कम शुल्कमै नोबेलले पीसीआर परीक्षण गर्न थालेको जनाएको छ । यसअघि नोबेलले २ हजार रुपैयाँमा पीसीआर परीक्षण गर्दै आएको थियो ।
कोरोना संक्रमण पुनः बढ्न थालेकाले कोरोना नियन्त्रणमा सहयोग पुर्याउँन पीसीआर परीक्षण शुल्क घटाइएको नोबेल अस्पतालका सञ्चालक डा. सुनिल शर्माले बताए । ‘अहिले फेरी कोरोना संक्रमण बढिरहेको छ । यस्तो बेला पीसीआर परीक्षण शुल्क महंगो भयो भने कोरोना नियन्त्रणमा समस्या हुँनसक्न भनेर केही सहज बनाउँन शुल्क घटाएका हौं,’ डा. शर्माले भने ।
डा.शर्माले मोरङको क्षेत्र नं.३ र क्षेत्र नं.६ अन्तर्गत पर्ने ६ वटा पालिकाका ४५ वटा वडाबासीलाई बैशाख महिनाभर नोबेलमा ७५० रुपैयाँमै पीसीआर परीक्षण गर्ने घोषणा गरी सोही अनुसार परीक्षणको व्यवस्था मिलाउँदै आएका बताएको छ । आफू अध्यक्ष रहेको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पनि डा. शर्माले केही दिन अघि पीसीआर परीक्षण शुल्क घटाएर १५ सयमा झारेको बताएका छन् ।
कोरोना महामारीमा सरकारले पीसीआर परीक्षण शुल्क ४ हजार ४ सय तोकेका बेला डा.शर्माले केएमसीमा १ हजार ९ सय कम अर्थात २ हजार ५ सयमै पीसीआर परीक्षण गराएको जनाएका छन् ।








