दुई सातामा १३३ जनाले कोरोनाबाट ज्यान गुमाए, संक्रमित सात गुनाले बढे

काठमाडौं । दुई सातामा कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । नयाँ वर्ष-२०७८ को पहिलो दिन १ वैशाखमा नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको थियो । उक्त संख्या दुई सातापछि मंगलबार बढेर चार हजार ५२४ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या तीन लाख सात हजार ९२५ पुगेको छ ।

दुई साताअघि चार हजार २८९ जनाको पिसिआर परीक्षण तथा ४५१ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा १४ हजार ६७२ जनाको पिसिआर परीक्षण तथा एक हजार नौ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । दुई साताअघिसम्म पिसिआर परीक्षण गराउनेको संख्या २२ लाख ३६ हजार ५२६ पुगेको थियो । हाल उक्त संख्या २४ लाख ३२ हजार ८९ पुगेको छ । हाल ५८ जना क्वारेन्टाइनमा रहेका छन् ।

हालसम्म दुई लाख ७८ हजार ५०६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५५५ संक्रमित निको भएर घर फर्किएका छन् । दुई साताअघि देशभर चार हजार ५६ सक्रिय संक्रमित रहेकामा हाल उक्त संख्या बढेर २६ हजार २२५ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि संक्रमित सात गुनाले वृद्धि
दुई सातामा काठमाडौं उपत्यकामा पनि कोरोना संक्रमितको संख्या सात गुना बढीले वृद्धि भएको छ । दुई साताअघि संक्रमितको संख्या काठमाडौं उपत्यकामा २५४ रहेको थियो । पछिल्लो २४ घण्टामा उपत्यकामा संक्रमितको संख्या बढेर एक हजार ९६६ पुगेको छ ।

दुई साताअघि संक्रमितको संख्या काठमाडौंमा १७३, ललितपुरमा ६१ तथा भक्तपुरमा २० रहेको थियो । हाल काठमाडौंमा एक हजार ६०२, ललितपुरमा २४० तथा भक्तपुरमा १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

दुई सातामा १३३ जनाले कोरोनाबाट ज्यान गुमाए
नेपालमा कोरोना भाइरसको संक्रमणबाट दुई साताअघि तीन संक्रमितको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जनाको मृत्यु भएको छ । वैशाख १ गते कोरोना भाइरसको संक्रमणबाट तीन हजार ६१ जनाको मृत्यु भएको थियो भने आज उक्त संख्या बढेर तीन हजार १९४ पुगेको मन्त्रालयले जनाएको छ । दुई सातामा कोरोनाबाट १३३ जनाले ज्यान गुमाएका छन् ।

बिदामा बसेकालाई काममा फर्किन निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिदामा बसेका आफ्ना कर्मचारीलाई तुरुन्त काममा फर्कन निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार संक्रमण ह्वात्तै बढेका कारण उनीहरूलाई काममा फर्किन निर्देशन दिइएको हो ।

मन्त्रालयले चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीलाई लामो बिदा नदिनसमेत निर्देशन दिएको छ । मन्त्रालयले आज सचिवस्तरीय निर्णय गर्दै कोरोना संक्रमणको दोस्रो लहर सुरु भएका कारण कर्मचारीलाई लामो बिदा दिन नसकिने जनाएको छ ।

मन्त्रालयले जनशक्तिको पालो निर्धारण गरी सेवा दिने व्यवस्था मिलाउन, अस्पतालको स्वीकृत दरबन्दीअनुसार रिक्त भएको पदमा तत्काल जनशक्ति व्यवस्थापन गर्न तथा थप जनशक्ति आवश्यक भएमा पाँच महिनाका लागि करार सेवामा लिनसमेत अस्पताललाई निर्देशन दिएको छ । -रासस

प्रतिक्रिया