काठमाडौंको नयाँ बसपार्कमा घर फर्कने यात्रुको घुइँचो

काठमाडौं । काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कमा घर जाने यात्रुको घुइँचो लागेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले वैशाख १६ गते बिहानदेखि काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा लगाउने निर्णय गरेसँगै घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।
अन्य समयमा यात्रु नपाएर खाली हिँड्न बाध्य भएका सार्वजनिक यातायात उक्त निर्णयसँगै भरिभराउ यात्रु बोकेर गन्तव्यतर्फ लागेका छन् । दुईदिन यात्रुलाई घर जाने समय दिएको बताएसँगै नयाँ बसपार्कमा घर जान यात्रुहरुको भीड लागेको हो । लामो दूरीका सार्वजनिक यातायातमा सिट नपाएको यात्रुले गुनासो गरेका छन् ।
नयाँ बसपार्कबाट हाल देशभरका ६५ भन्दा बढी जिल्लामा सार्वजनिक यातायात ओहोरदोहोर गर्दै आएका छन् ।
काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको १६१ रोपनी क्षेत्रफलमा निर्माण गरिएको नयाँ बसपार्कमा एक हजार ५ सयभन्दा बढी सार्वजनिक सवारी साधन पार्किङ गर्न मिल्ने ल्होत्से बहुउद्देश्यीय प्रालिले जनाएको छ ।








