नेपालमा अक्सिजन उत्पादन क्षमता पर्याप्त‚ सिलिन्डरको अभाव

काठमाडौं । नेपालमा कोभिड–१९ को दोस्रो लहरको संक्रमणसँगै जटिल अवस्थाका बिरामी बढे प्राणवायु अर्थात् अक्सिजनको अभाव हुने हो कि भन्ने चिन्ता बढेको छ । चिन्ता यसकारण पनि बढेको छ कि भारतमा अहिले गम्भीर अवस्थाका बिरामी अक्सिजनकै अभावमा ज्यान गुमाउन बाध्य भइरहेका छन् ।

यस्तो अवस्थामा भारतबाट नेपालमा अक्सिजनसहितको सिलिन्डर वा खाली सिलिन्डर पनि आउने सम्भावना छैन । अहिले नेपाललाई आफ्नै उत्पादनको अक्सिजनले मात्र नपुग्ने देखिएको नेपाल अक्सिजन ग्यास उत्पादक संघका अध्यक्ष गौरव सारडाले जानकारी दिए ।

देशभरि सञ्चालनमा रहेका २० वटा उद्योग पूर्ण सञ्चालनमा रहे दैनिक बढीमा २५ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले जानकारी दिए । अहिले काठमाडौं उपत्यकाभित्र पाँचवटा अक्सिजन उद्योग सञ्चालनमा छन् । ती उद्योग पूर्ण क्षमतामा उत्पादन हुँदा दैनिक ८ देखि ९ हजार सिलिन्डर अक्सिजन उत्पादन गर्न सक्ने उनले जानकारी दिए ।

उपत्यकाबाहिर १५ वटा उद्योग सञ्चालनमा छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मात्रै दैनिक ५ देखि ६ हजार सिलिन्डर ग्यास आवश्यक हुने तथ्यांक अक्सिजन उद्योगहरुलाई उपलब्ध गराएको छ । त्यस्तै, देशभर दैनिक ४० हजार सिलिन्डर अक्सिजनको माग हुन सक्ने अनुमान मन्त्रालयले गरेको छ ।

अक्सिजनभन्दा सिलिन्डरको अभाव
नेपालमा अहिले २० देखि २५ हजार अक्सिजन सिलिन्डर रहेको अनुमान छ । ४० हजार सिलिन्डर आवश्यक परे १५ देखि २० हजारको हाराहारीमा सिलिन्डर आवश्यक पर्ने देखिन्छ । नेपालमा अहिले अक्सिजनको भन्दा सिलिन्डरको अभाव रहेको अध्यक्ष सारडाको भनाइ छ । गम्भीर प्रकृतिका बिरामी नबढे अहिलेकै सिलिन्डरले माग धान्ने भएपनि यस्ता बिरामी बढेमा १५ देखि २० हजार सिलिन्डरको माग हुने देखिएको छ ।

‘मेरै उद्योगमा ८ हजार सिलिन्डर छन्,’ अध्यक्ष सारडाले भने, ‘तर आलोपालोमा प्रयोग गरिएको सिलिन्डर फिर्ता नआउँदा अक्सिजन उत्पादन नै गर्न सकिएको छैन । अहिले अक्सिजन उत्पादनको होइन, सिलिन्डरको अभाव हो ।’
हाल प्रचलनमा रहेका ३७ लिटरको सिलिन्डर खरिदका लागि १८ हजार रुपैयाँ पर्छ । त्यस्तै, साना १० लिटरका सिलिन्डरको दाम १० देखि १२ हजार रुपैयाँसम्म छ । तर, अक्सिजनको दाम ठूलो सिलिन्डरको ४ सय रुपैयाँ र सानो सिलिन्डरको २ सय २५ रुपैयाँ पर्छ ।

धरौटी राख्ने र आलोपालो भरेर पठाउने गरिएकाले घरमा वा अस्पतालमा सिलिन्डर थन्क्याएर राखिदिँदा १८ हजार रुपैयाँ लगानी थन्किन्छ । अहिलेको महामारीमा बेला त झनै सिलिन्डर थन्क्याएर राख्दा अक्सिजनकै अभाव हुने भएकाले आफूले लगेको सिलिन्डर खाली भए सकेसम्म चाँडो फर्काइदिए सजिलो हुने उनले बताए ।

सरकारको चर्को कर नीतिले अक्सिजन उद्योग धरासायी
सिलिन्डरमा पनि १५ प्रतिशत भन्सार महशुल (कस्टम ड्युटी), ५ प्रतिशत उत्पादन शुल्क (एक्साइज ड्युटी) र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) गरी ३३ प्रतिशत राजस्व असुलिरहेकोले अक्सिजन उद्योगहरु धरासायी भएर बन्द हुने अवस्थामा पुगेको अध्यक्ष सारडाको भनाइ छ ।

‘यसै पनि सामान्य अवस्थामा बजारको अभाव भोगिरहेका अक्सिजन उद्योगलाई सरकारले ३३ प्रतिशत कर उठाइरहेको छ,’ उनले भने, ‘लगानीका हिसाबले हामी साना होलाऊँ तर नेपालको स्वास्थ्य क्षेत्रमा हाम्रो पनि भूमिका महत्वपूर्ण छ । यो विषयलाई सरकारले स्वीकार गरेर अक्सिजन उद्योगलाई सहयोग गर्नुपर्छ ।’

प्रतिक्रिया