कांग्रेस नेताले गराए कोरोना परीक्षण

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी र केन्द्रीय सदस्यहरूको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको छ ।

पार्टी कार्यालय सानेपामा कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यहरू तथा सहयोगीहरुको कोरोना जाँचका लागि स्वाब सङ्कलन गरिएको हो ।

पार्टी पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य, सचिवालयका कर्मचारी र नेताहरूको सुरक्षामा खटिने सुरक्षाकर्मी गरी २ सयभन्दा बढीको स्वाब सङ्कलन गरिएको कांग्रेसले जनाएको छ । कोरोना जाँच गरेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आइसीयू र भेन्टिलेटरको उचित प्रबन्ध गर्नुपर्ने, विदेशबाट आउने नागरिकलाई नाका र विमानस्थलमा नै कोरोना परीक्षण गर्नुपर्ने बताए ।

उनले स्वास्थ्य तयारीमा ढिलाइ भएको बताए । त्यस्तै पौडेलले कोरोनाका कारण महाधिवेशन प्रभावित नहुने बताए । उनले पार्टीभित्रका क्रियाशील सदस्यलाई सदस्यता वितरणका साथै समायोजनको काम छिटै सम्पन्न गर्नुपर्ने उल्लेख गरे ।

कोरोना जाँचका लागि भन्दै कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक वैशाख १५ गतेसम्मका लागि स्थगित गरेको छ । यसअघि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले नेताहरूको कोरोना जाँचपछि मात्रै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया