श्रद्धा सुमन मनमोहन !

काठमाडौं । आज बैशाख १३ अर्थात् नेपालका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृति दिवस । इमान र निष्ठा भएका नेताका रुपमा परिचित नेता अधिकारीको २०५६ साल बैशाख १३ गते निधन भएको थियो । उनी नेतृत्वको ९ महिने शासनकालको सरकार ‘आफ्नो गाउँ आफैं बनाऔं’, ‘बृद्धभत्ता’ जस्ता जनताको पक्षमा काम गरेर जनप्रिय बनेको थियो ।
२०४६ सालको आन्दोलनमा नेतृत्वदायी भूमिकामा रहेका अधिकारी त्यसबेला नेकपा –मार्क्सवादी) का अध्यक्ष थिए । बहुदलीय व्यवस्थाको आगमनसँगै नेकपा (माले) र मार्क्सवादीबीच एकता भयो । अधिकारी एकतापछि बनेको नेकपा (एमाले) को अध्यक्ष बनेका थिए ।

२०५१ को मध्यावधि निर्वाचनमा कुनै पार्टीको स्पष्ट बहुमत नआएपछि सबैभन्दा ठूलो दल नेकपा एमालेको तर्फबाट नेता अधिकारी प्रधानमन्त्री बनेका थिए । उनको नेतृत्वमा सरकार बनेको ९ महिनापछि अन्य पार्टीले विश्वासको मत नदिएपछि सरकार ढल्यो । ९ महिनाको छोटो समयावधिमा पनि अधिकारी नेतृत्वको सरकारले शुरु गरेका केही जनप्रिय काम गरेको भनेर अझैसम्म चर्चा हुने गरेको छ ।

स्वर्गीय अधिकारी सामान्य जीवनशैली र सरल ब्यक्तित्वका कारण पनि कम्युनिष्ट आन्दोलनमा लागेकाहरुका लागि आदर्श पुरुषका रुपमा रहेका छन् ।

मनमोहन अधिकारीले भारत बसाइका क्रममा कम्युनिष्ट आन्दोलनमा जोडिएका थिए । सन् १९३८ मा वाराणसी अध्ययनका क्रममा उनी अंग्रेजविरुद्धको ‘भारत छोडो’ आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे । त्यो आन्दोलनमा सक्रिय भएका कारण तत्कालिन इष्ट इण्डिया कम्पनी सरकारले गिरफ्तार गरेर जेल पठाएपछि अधिकारीको अध्ययन बीचैमा रोकिन पुगेको थियो । उनी बंगलादेशको स्वतन्त्रता आन्दोलनको क्रममा पनि पक्राउ परेका परेका थिए ।

भारतमा रहँदा भारतीय कम्युनिष्ट पार्टीमा सामेल भएका अधिकारी नेपाल फर्केपछि विराटनगरको एक कारखानामा काम गर्न थाले र ट्रेड यूनियनको नेता बने । सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्नेमध्येका एक थिए ।

उनी एक प्रजातान्त्रिक योद्धा पनि थिए । उनी आफूलाई एक कम्युनिष्ट प्रधानमन्त्री मात्र भन्दा पनि जनताको प्रधानमन्त्रीका रुपमा सबैले सम्झिरहुन भन्ने आफ्नो चाहना रहेको बताउँथे ।

नेता मनमोहन अधिकारीप्रति हार्दिक श्रद्धासुमन ।

प्रतिक्रिया