काठमाडौंका दुई स्थानमा ‘वाटर एटीएम’ सेवा

काठमाडौं । काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डको समन्वयमा वाटर एटीएम सेवा विस्तार गरिएको छ ।
सोमबार काठमाडौंको नयाँ बानेश्वर र शंकपार्कमा स्मार्ट वाटर भेन्डिङ् मेसिन (वाटर एटीएम) स्थापना गरिएको हो ।
बानेश्वरमा वाटर एटिएमका साथै अत्यधुनिक शौचालय र शंकपार्कमा वाटर एटीएम स्थापना गरी काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीले उद्घाटन गरे । करिब दुई करोडको लागतमा काठमाडौंका विभिन्न १५ स्थानमा वाटर एटीएम राख्ने योजनाअनुसार सेवा विस्तार गरिएको महानगरका प्रमुख शाक्यले बताए ।
जनताको मागअनुसार आवश्यक स्थानमा यसलाई विस्तार गरिने उनले बताए । त्यस्तै शाक्यले सार्वजनिक जग्गाको संरक्षणमा पनि महानगरले जोड दिने धारणासमेत व्यक्त गरे ।
महानगरले वाटर एटीएमका लागि २०७६ चैत १० गते नै काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डसँगको सम्झौता गरेको थियो ।








