नेपालमा क्रिकेट‚ जो खेलमात्र होइन…

काठमाडौं । हुनलाई क्रिकेट एउटा खेल हो । तर, यतिमात्र पनि होइन । मतलब क्रिकेट खेलमात्र होइन । थप केही हो । अझ धेरै हो । नेपालमा यो कुरा पटकपटक पुष्टि हुँदै आएको छ ।

उदाहरणका लागि भख्खरै सकिएको त्रिकोणात्मक टी-ट्वेन्टी क्रिकेटलाई नै हेरौं । थाहा लाग्छ कि क्रिकेट एक आशा हो । उत्साह हो । खुशी हो । भरोसा हो । मतलब धेरै धेरै कुरा हो…। धेरैजसो क्षेत्रले निराश बनाइरहेका बेला क्रिकेट टुप्लुक्क आइपुग्छ, आशा बोकेर, उत्साह बोकेर, खुशी बनेर… ।

वैशाख ११ गते नेपालका लागि विशेष दिन हो । लोकतन्त्र दिवसका रुपमा यहि दिन त हो‚ नेपालले राजनीतिक रुपमा कोल्टे फेरेको दिन । तर, आदर्शजस्तो व्यवहारमा लोकतन्त्रको अनुभुति हुन नसक्दा नागरिकहरु निराश बन्नु परिरहेको छ । यस्तो बेलामा राजनीतिक परिवर्तनको एक महत्वपूर्ण अंशियार रहेको थलो कीर्तिपुरबाट क्रिकेटले खुसी दिलायो ।

कीर्तिपुर चेतना र विद्रोहको एक किल्ला पनि हो । बौद्धिकताको मानक मानिने विश्वविद्यालयलाई काखमा राखेर वर्षौदेखि आफ्नो गर्विलो उपस्थिति जनाइरहेको कीर्तिपुर पछिल्ला केही वर्षदेखि क्रिकेटसँग पनि जोडिन्छ । र यस्ता खुशीका खबरहरू ल्याइरहन्छ कीर्तिपुर ।

लोकतन्त्र दिवसको दिन लोकतन्त्रबारेकै अनेकौं गुनासा बोकेर निन्याउरो मुख लगाइरहेका नागरिकलाई क्रिकेटले थोरै भएपनि खुसी बनायो । क्रिकेट नबुझ्नेहरू पनि धेरैले नेपालले जितेको कुरा बुझे । विजय भावमा खेलाडीहरू मैदानमा कुदिरहेको देखे । घरघरमा छोराछोरी वा नातिनातिनी पुस्ताले वाह क्या खेल्यो नेपालले भन्दै शानले छाती चौडा बनाएको देखे ।

यसअघि पनि समय समयमा नेपालीलाई क्रिकेटले खुशी दिलाएको छ । डिभिजन लेबलका खेलमा होस् वा विश्वकपसम्मको यात्रा गरेर, अनि राष्ट्रिय टिमले एकदिवसीय मान्यता पाएर किन नहोस् नेपालीलाई क्रिकेटले खुशी दिइरहेकै छ ।

यसपटकको सफलताको कुनै एउटा प्रतियोगिता जित्नुमा मात्रै सीमित छैन । यसले सम्भावनाको सुदूर क्षितिजबाट फेरि एकपटक क्रिकेट मैदानमा झरेको आभाष दिलाएको छ । कसरि त ?

टिमले समातेको लय
नेपालले छोटो समयमै उँचो उपलब्धी हासिल गरेको हो क्रिकेटमा । तर केही समययता नेपाली क्रिकेट अलमलिएको जस्तो, बरालिएको जस्तो अथवा सम्भावना भएर पनि केही गर्न नसकेकोे जस्तो देखिन थालेको थियो । प्रशिक्षक चयनको समस्या, क्रिकेट संघभित्रको राजनीति, लगानी र घरेलु प्रतियोगिताको अभावलगायतका कारणले राष्ट्रिय क्रिकेट टिमको प्रदर्शनले निराश बनाउन थालेको जस्तो देखिन्थ्यो । नेपालले घरेलु मैदानमा उपाधी नजितेको वर्षौं भइसकेको थियो ।

खोलो पनि फर्किन्छ भन्ने मानिने अवधि, अर्थात् ११ वर्षपछि बल्ल नेपालले घरेलु भूमिमा उपाधि हात पारेको हो ।

तर, संयोग भनौं वा समय अब नेपालले लय समातेको छनक दिएको छ । यसो भन्नुका पछाडि केही आधार छन् । जस्तो कि-

कुशलहरूको कौशल
नेपाली क्रिकेट टिमको प्रदर्शनले सबैलाई आनन्दित त बनाएको छ नै । त्यसमा झनै युवा खेलाडीको प्रदर्शनले थप आनन्दको आस्वादन गराएको छ । केही अचम्म जस्तो पनि लाग्ने गरिको नतिजा निकालेको छ यसपटक नेपाली टिमले ।

टिमको यो सफलता र प्रदर्शनमा सबैभन्दा केन्द्रमा रहे, ब्याट्स्मयान कुशल भुर्तेल । उनै कुशल भुर्तेल, जसले विश्व क्रिकेटमा कीर्तिमान पनि कायम गरे । आफ्नो डेब्यु प्रतियोगितामै उनले लगातार तीनसहित पाँच खेलमा चार अर्धशतक बनाए । पहिलो खेलमा उनले नेदरल्यान्ड्सविरुद्ध ६२ रन बनाएका थिए । त्यसपछि मलेसियाविरुद्ध ६१ रनमा अविजित रहे । फेरि नेदरल्यान्ड्सविरुद्ध नै अर्को खेलमा ६२ रन बनाएका कुशलले फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नै ७७ रन बनाए । मतलब, ५ खेलबाट २७८ रन ।

अर्का कुशल अर्थात् कुशल मल्लको प्रदर्शन पनि उस्तै लोभलाग्दो रह्यो । २४ बलमै अर्धशतक बनाउने क्रममा उनले नेपालका लागि दोश्रो सर्वाधिक छिटो ५० रन बनाए ।

५० ओभरको खेलमा २ सय रन कटाउन धौ–धौ पर्ने नेपालले २० ओभरको खेलमा नै २ सय रनभन्दा बढी बनाएको छ । यसले नेपाली ब्याटिङ सुधार भएको दशी दिन्छ ।

कप्तान ज्ञानेन्द्रको औसत प्रदर्शनसहित दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल र फिनिसर करण केसीको उत्कृष्ट ब्याटिङले नै नेपालले २ सय रन कटाउन सकिरहेको हो ।

प्रतियोगितामा आशिफले १५४ रन बनाए । दीपेन्द्रले चार खेलमा १४७ रन बनाए । आक्रामक ब्याट्स्याम्यान कुशल मल्लले ३ खेलमा एक अर्धशतकसहित ८७ रन बनाए ।

यस्तै, सन्दीप लामिछाने सबैभन्दा धेरै विकेट लिने खेलाडी बने भने करण केसीको अलराउन्डर छवि कायमै रह्यो । एकै ओभरमा ४ छक्कासहित उनले १३ बलमा ४५ रन बनाए । कप्तान ज्ञानेन्द्र मल्लको प्रदर्शन पनि निराशाजनक रहेन । डेब्यु बलर कमलसिंह ऐरीले खेल्न पाएका दुई खेलमा आफू किन राष्ट्रिय टिममा पर्न योग्य छु भन्ने कुरा प्रमाणित गरेर देखाइदिए । तुलनात्मक रुपमा सोमपाल कामी र विनोद भण्डारीको प्रदर्शन भने सन्तोषजनक नरहेको भन्न सकिएला ।

नेपाली टिममा पुराना खेलाडीमा कप्तान ज्ञानेन्द्रसँगै विनोद भण्डारी, सोमपाल कामी र करण केसी हुन् । बाँकी खेलाडी करिब एउटै दामलका छन् ।

यी तरुण खेलाडीहरुको हस्तक्षेपकारी प्रवेश टिमको नयाँ आशाका लागि सबैभन्दा बलियो कुरा हो । नेपालका कप्तान ज्ञानेन्द्र मल्लले उपाधि जितेपछि भनेको कुरा अर्थपूर्ण छ । उनले भने‚ ‘ब्याटिङ, बलिङ, फिल्डिङ सबै राम्रो भयो । टोलीमा धेरै युवा खेलाडी छन् । यसले आउने दिनमा उनीहरूले नेपाली क्रिकेटलाई राम्रो सन्देश दिएका छन् । उनीहरूलाई राम्रोसँग ग्रुम गर्ने हो भने नेपाली क्रिकेट अझ माथि पुग्न सक्छ ।’

पुराना खेलाडीलाई पनि अब राम्रो खेल्न नसके ब्याकअपमा राम्रा खेलाडीहरू छन् भन्ने चुनौती थपिएको छ ।

ओपनिङको आशा
नेपालले नयाँ ओपनिङ जोडी पनि पाएको छ यो प्रतियोगिताबाट । कुशल भुर्तेल र आशिफ शेखको जोडीले नेपाललाई ठूलो स्कोरतर्फ अग्रसर गराउने योग्यता पेश गरेका छन् । विगतमा भएको खराब ओपनिङ कुशल र आशिफको आगमनसँगै बिर्सिइने दिन आउलाजस्तो देखिन्छ । आशिफले प्रतियोगितामा १५४ रन बनाउँदा एक अर्धशतक पूरा गरे । उनले नेदरल्यान्ड्सविरुद्ध नै अर्धशतक बनाएका थिए ।

नेपाली क्रिकेटलाई लाग्ने आरोपमात्र होइन खट्किने विषय नै हो ब्याटिङ । त्यसमा पनि ओपनिङ ब्याटिङले त तनाव दिइआएकै हो । प्रशिक्षकले अनेकौँ प्रयोग नगरेका पनि होइनन् तर प्रयोग खास सफल हुन नसकिरहेका बेला कुशल र आशिफ ओपनर ब्याट्स्म्यानका रुपमा आशा र भरोसाको किरण लिएर झुल्किएका छन् । भलै आशिफ घरेलु क्रिकेटमा झैं अझै अझै जम्न सकेनन् यो प्रतियोगितामा ।

ह्वाटमोरले ह्वात्तै बढाइदिएको आशा
श्रीलंकाली मूलका क्यानडेली प्रशिक्षक पुबुदु दासानायकेपछि नेपाली क्रिकेटमा प्रशिक्षणको पाटो अलि अल्मलिएको हो । बिचमा ल्याइएका दुई अल्पकालीन प्रशिक्षकसँगको ट्युनिङ खास मिलेन टिममा । भलै, प्रशिक्षक जगत टमाटाको योगदानलाई भने कम आँक्न नमिल्ला ।

तर, सफलताका हिसाबले विश्व विख्यात प्रशिक्षकको सूचीमा पर्ने अष्ट्रेलियाली प्रशिक्षक डेभिड ह्वाटमोरलाई मुख्य प्रशिक्षकका रुपमा चयन गरेपछि अब केही हुने कुरामा आशा ह्वात्तै बढेको हो ।

उनको आगमनसँगै नेपालले ब्याटिङमा चमत्कारी सुधार मैदानमै देखिएको छ । उनले टिम सम्हालेको छोटो समयमा यो परिवर्तन आउनुले उनको रसायन टिममा सकारात्मक रुपमा परेको बुझुन कठिन छैन । नेपालको राष्ट्रिय टिमका पूर्व ब्याट्स्म्यानसमेत रहेका प्रशिक्षक राजु बस्न्यात पनि यो कुरा मान्छन् । ‘डेभले खासमा खेलाडीलाई मनोवैज्ञानिक रुपमा बलियो बनाउन सफल भएका छन् । यसको प्रभाव खेलमै देखियो ।’

Dav Whatmore appointed as Nepal's new head coach – CricXtasy

हो पनि, टिम छनौटदेखि रणनीति तय गर्ने कुरामा प्रशिक्षकले केही जोखिम लिएकै हुन्छ । र, त्यो सफल भए प्रशिक्षक सफल हुने हो । यस हिसाबले ह्वाटमोरको रणनीतिको सकारात्मक प्रभाव नेपाली टिममा पर्न थालेको त देखियो नै । राजु भन्छन्‚ ‘डेभले खेलाडीहरुमा पोजेटिभ भाइब्स ल्याउन सफल भएका छन् ।’ हुन पनि उनै डेभ नेपाली टिमलाई सम्हाल्न तयार छन् भन्ने कुरा सुनेदेखि नै खेलाडी मात्र होइन क्रिकेटका पदाधिकारी र शुभचिन्तकसमेतले उनका विगतका सफलतासँगै नेपाली क्रिकेटको अर्को उडानको सपना देख्न थालेका हुन् ।

‘हाम्रो ब्याटिङमा धेरै हडल्स (अवरोध) थिए’, राजु भन्छन् ‘ति हडल्स अब चाहिँ छिचोलेर अघि बढ्न सकिन्छ भन्ने भरोसा बढेको छ ।’

पहिलो प्रतियोगितामै सफलताको मिठो स्वाद चाख्न पाएका मुख्य प्रशिक्षक ह्वाटमोर पनि दंगै छन् । र त उनी भन्छन्- म दङ्ग परिरहेको छु, टिमले सोचेभन्दा पनि राम्रो खेलेर मलाई दङ्ग बनाइरहेको छ।

क्रिकेटको माहौल
कोभिडको त्रास बढ्दै गएपछि नेपाल क्रिकेट संघ क्यानले मैदानमा दर्शकलाई प्रवेश निषेध गरेपनि त्रिवि मैदानको वरिपरि लगाइएको होचो पर्खालको फाइदा उठाउँदै हजारौँ दर्शक कीर्तिपुर पुगे । सुविस्ताले खेल देखिने ठाउँमा अरूले कब्जा जमाइसक्लान् भनेर घन्टौं अघि नै दर्शक पुगिसकेका हुन्थे । १२ औं खेलाडीका रुपमा मैदानमा रहेको टिमलाई हौस्याउन उनीहरु कोभिडको त्रासलाई गोली मारेर मैदानमा पुगेका थिए ।

फाइनलमा तीन हजारभन्दा बढी दर्शकले टियू मैदानको पर्खाल बाहिरबाट खेल हेरे । कसैले रुखमा चढेर त कसैले पर्खालमा अडिएर । यस्तै उल्लेख्य दर्शकको उपस्थिति नेपाल र मलेसियाको खेलमा पनि थियो । कप्तान ज्ञानेन्द्रले खेलमा देखाएको समर्थनप्रति कृतज्ञता ज्ञापन गर्दै स्वास्थ्यको पनि ख्याल राख्न समर्थकलाई आग्रह गरेका थिए ।

नेदरल्यान्ड्सका खेलाडीहरु नेपाली क्रिकेट समर्थक देखेर छक्क परेका छन् । डच टिमका कप्तान पिटर सेलार भन्छन्, ‘कोरोनाको कारण मैदानमा दर्शकलाई रोक लगाएपनि मैदानबाहिर निरन्तर दर्शक उपस्थित भएर साथ दिएको देख्दा अचम्म लाग्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा यस्तो क्रेज आवश्यक छ । नेपाली क्रिकेटको क्रेज महशुस गर्न पाउँदा आनन्दित भएँ ।’

यी र यस्ता धेरै कुराहरू मिलेर नेपाली क्रिकेट टिमले फेरि एकपटक सम्भावनाको नयाँ आशा जगाएको छ ।

सबै कुराको तालमेल मिलेको देखिएको नेपाली टिमले अब एकदिवसीय मान्यता कायमै राख्नुपर्ने चुनौतीसँगै विश्वकपतर्फको यात्रा तय गर्नुपर्ने चुनौती आत्मसाथ गर्नुपर्नेछ । र पछि पछि आउनेछ ‘टेस्ट मान्यता’ को लक्ष्य ।

प्रतिक्रिया