पूर्वाञ्चल विश्वविद्यालयको प्रश्नपत्र आउट गर्ने १० जना पक्राउ

विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयमा प्रश्नपत्र आउट गराउन सक्रिय १० जना पक्राउ परेका छन् । गत वैशाख ३ गते पूर्वाञ्चाल विश्वविद्यालय गोठगाउँमा हुन लागेको ईन्जिनियरिङ संकायतर्फको प्रश्नपत्र बाहिर लैजान भूमिका खेल्नेमध्येका १० जना पक्राउ परेका हुन् ।
बिई सेकेण्ड सेमेस्टारको फिजिक्स विषयको मूल प्रश्नपत्र परीक्षा हुनुपूर्व नै बाहिरिएको थियो । प्रश्न पत्र बारिएपछि अनुसन्धानको लागि पूर्वाञ्चल विश्वविद्यालयले प्रहरीलाई आग्रह गरेपछि अनुसन्धान शुरु भएको थियो । अनुसन्धानको आधारमा प्रहरीले १० जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काका अनुसार अनुसन्धानका क्रममा पूर्वाञ्चाल विश्वविद्यालयका फोटोकपी गर्ने कर्मचारीले समाजिक संजाल प्रयोग गरी प्रश्न पत्र बाहिर ल्याएको पाइएको छ । ‘विश्वविद्यालयका कर्मचारी नै यसमा संलग्न भएको देखियो,’ उनले भने, ‘भित्र फोटोकपी गर्ने व्यक्तिले सामाजिक संजालको प्रयोग गरेर बाहिर पठाएको अनुसन्धानमा देखिएको छ।’ प्रश्नपत्र बाहिर पठाउनेसहितका १० जनालाई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका- ८ का कोमलप्रसाद गौतम, संखुवासभा मादी नगरपालिका- ६ का गोपाल कार्की, रूपन्देहीका विजय पोखरेल, गोरखाका मिन प्रसाद भट्ट, भरत पठन, विकास खड्का छन् । त्यस्तै सिन्धुपाल्चोकका निर्मल खड्का, महोत्तरीका नानिपथ मण्डल, सप्तरीका जीवन कुमार यादव र सप्तरीकै महेश यादव पनि पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा पहिलोपटक विराटनगरका महेश यादवलालाई पक्राउ गरेको थियो । एसपी खड्काका अनुसार यादवलाई पक्राउ गरेपछि उनीमार्फत् विश्वविद्यालयको फोटोकपी शाखाका कर्मचारी कोमलप्रसाद गौतम पक्राउ परेका हुन् ।
‘हामीले अनुसन्धान गर्दै जाने क्रममा कर्मचारी गौतमले प्रश्नपत्र फोटोकपी गरेर बाहिर निस्किएपछि हातले लेखेर गोपाल कार्की भन्ने व्यक्तिलाई दिएको पाइयो,’ एसपी खड्काले भने, ‘गोपाल कार्कीले अर्का विजय पोखरेललाई ८० हजारमा बेचेको पाइएको छ ।’
फिजिक्स विषय पास गर्न नसकेर ब्याक लागेका विजय पोखरेलले ८० हजारमा प्रश्नपत्र किनेका थिए । त्यसपछि उनले सोही प्रश्नपत्र अन्य विभिन्न व्यक्तिलाई बेचेको पाइएको प्रहरीले जनाएको छ ।








