जो, ८२ घण्टा पुरिए

काठमाडौं । भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँका ३१ वर्षीय ऋषि खनाल २०७२ साल वैशाख १४ गते वैदेशिक रोजगारीका लागि यूएइ उड्नु थियो । हवाई टिकटसमेत भइसकेको अवस्थामा खनाल काठमाडौंसम्म पुगेका थिए । तर, १२ गतेको विनाशकारी भूकम्पले विदेश गएर धन कमाउने सपना चकनाचुर पारिदियो । त्यति मात्रै होइन, झन्डै ८२ घण्टापछि खनालको जीवितै उद्धार गरियो । भाग्यले बाँचे १ गोंगबुस्थित साततले गेस्टहाउसको पहिलो र दोस्रो तला भूकम्पले भत्किएको थियो ।

तर, माथिल्लो चार तला कायमै थियो । त्यही भत्किएको तलाबाट खनालको उद्धार सशस्त्र प्रहरी र फ्रान्सको खोजी तथा उद्धार टोलीले १० घण्टाको अथक प्रयासपछि गरेको हो । खनालले आफ्नो उद्धारपछि बाँच्नका लागि पिसाबसमेत खाएको बताएका थिए । उनले ढुंगाका स–साना टुक्रा बाहिर फालेर उद्धार टोलीको ध्यान खिचेका थिए ।

उनको देब्रे खुट्टा काटिएको छ । उपचार खर्च सरकारले सरकारले बेहोर्यो । तर, काठमाडौं आउजाउ, औषधि खर्च गर्दा अढाइ लाखभन्दा बढी रकम सकियो । भन्छन्, ‘भूकम्पमा परेर अंगभंग भएका म र मजस्ता साथीहरूले सीप सिकेर जीविकोपार्जन गर्न चाहेका छौं ।’

काठमाडौंमा विभिन्न संघ–संस्थाले सीपमूलक तालिम निःशुल्क दिने भनेका थिए । तर, सम्पर्कै गरेनन् । निःशुल्क भए पनि काठमाडौंमा भाडा तिरेर बस्ने, बिहान–बेलुका खाने स्रोतसमेत जुटाउन नसकेर सीपमूलक तालिम लिन नसकेको खनाल सुनाउँछन् । खाने, बस्ने व्यवस्था गरिदिए भूकम्पमा परेर हात खुट्टा गुमाएका आफूजस्ता साथीहरूले सीप सिकेर केही काम गरेर खान सक्ने उनको भनाइ छ । पत्रपत्रिका [अन्नपूर्ण पोस्ट्]

प्रतिक्रिया