दुवै जनआन्दोलनको तस्बिर खिचेका फोटो पत्रकार बज्राचार्य भन्छन्– नागरिकले ल्याएको व्यवस्थामा नागरिककै गुनासो हुनु राम्रो भएन

काठमाडौं । सन् १९८७ जुलाई १७ मा मा मेरो पहिलो तस्बिर छापिएको थियो ‘दी कमनर’ पत्रिकामा । पत्रकार पदम ठकुराठीमाथि गोली प्रहार गर्ने व्यक्तिहरुलाई थुनछेकका लागि चारखाल अड्डामा ल्याएको फोटो थियो त्यो । त्यो फोटो छापिएपछि मलाई यतातिरको नशा अझ बढ्यो ।

केही समयपछि त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हावाहुरी चलेको र भागदौडको फोटो खिचें यो पनि कमनरमै छापियो ।  तस्बिरहरु छापिन थालेपछि म चिनिन थालेँ ।

४६ सालको आन्दोलनका बेला खुला मञ्चमा देखिएको मानव सागर

मेरो घर न्यूरोडभित्र मासाङ गल्लीमा हो । म त्यसबेलाका राजनीतिक नेताहरुको नाम त सुनिरहेको हुन्थें । पत्रकारितामा लागेपछि ती नामहरुसँग झनै नजिक हुन पुगेँ । एकदिन राष्ट्रिय नाचघर जमलमा भएको एउटा कार्यक्रममा तस्बिर खिच्न पुगेको थिएँ । नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंले आयोजना गरेको त्यो कार्यक्रममा गणेशमान सिंह, किसुनजीलगायत नेता उपस्थित थिए । यसअघि नाममात्र सुनेको र पत्रिकामा मात्र देखेका नेताहरुकै सामुन्नेमा उभिएर उहाँहरुको तस्बिर खिच्दा आफूलाई विश्वास भइरहेको थिएन ।

४६ साल माघ ५ गतेको आन्दोलन घोषणा सभालाई सम्बोधन गर्दै कांग्रेस नेता गणेशमान सिंह

त्यो दिनपछि मलाई धेरै नेताहरुले चिन्नुभयो । २०४६ सालको जनान्दोलन शुरु हुनै लाग्दा मलाई किसुनजीले नेपाली कांग्रेसको लेटरहेडमा लेखेको पत्र प्राप्त भयो । कांग्रेस नेता पीएल सिंहले त्यो चिठी दिनुभएको थियो, जसमा किसुनजीको हस्ताक्षर थियो । त्यो पत्रमा मलाई प्रजातन्त्रको पुनःबहालीको आन्दोलनमा सक्दो सहयोग गर्न आग्रह गरिएको थियो । त्यो, पत्र पढेपछि मलाई किन हो किन जनान्दोलनलाई सक्दो सहयोग गर्नुपर्छ भन्ने लाग्यो । मैले गर्ने सहयोग क्यामेराबाट थियो । म सक्रियतापूर्वक आन्दोलनहरुमा सहभागी भएँ र ती गतिविधिलाई फोटोको माध्यमबाट आम नागरिकसम्म पुर्याएँ ।

|४६ सालको जनआन्दोलनको झलक|

त्यसबेला मानिसहरु एउटा आशा लिएर आन्दोलनमा सहभागी हुन्थे । पञ्चायतीकालमा संकुचित भएका आफ्ना अधिकारहरु अब विस्तारित हुन्छन्, हाम्रा शासक हामी आफैं चयन गर्न पाउँछौं, हामी वास्तवमै सार्वभौमसत्ता सम्पन्न हुन पाउँछौं भन्ने ठूलो आकांक्षा देखिन्थ्यो । अब दुःखका दिन सकिनेछन् भन्ने आशा र राजनीतिक दलहरुले राम्रो गर्नेछन् भन्ने भरोसा देखिन्थ्यो त्यसबेला आन्दोलनमा सहभागी भएका आम नागरिकहरुमा ।

|४६ साल चैत २७ गते खुलामञ्चमा देखिएको मानव उपस्थिति|

प्रजातन्त्रको पुनःस्थापना भयो । नागरिकको आन्दोलनको जीत भयो । तर, विस्तारै नागरिकका आशाहरु भने निराशामा बदलिए । नागरिकले गरेको अपेक्षाअनुसार काम हुन सकेन । राजनीतिक अस्थिरता बढ्यो । त्यसैको कारणले पनि फेरि प्रजातन्त्र हरण भयो ।

|४६ साल माघ ५ गते कांग्रेसले क्षेत्रपाटीमा गरेको राजनीतिक कार्यक्रम|

२०६२/६३ सालमा फेरि प्रजातन्त्रकै लागि जनआन्दोलन गर्नुपर्ने अवस्था आयो । नागरिक फेरि सडकमा आउनुपर्‍यो । म पनि फेरि क्यामेरा बोकेर जनआन्दोलनका तस्बिर खिच्ने कर्ममा खटिएँ ।

|६२/६३ सालको जनआन्दोलनमा देखिएको भागदौड|

२०४६ सालमा जस्तै नागरिकहरु लोकतन्त्रप्रतिको आशा र भरोसा बोकेर निरंकुश व्यवस्थाको विरोधमा सडकमा उत्रिएका थिए । हाम्रा दुःखका दिन अब सकिन्छन् अब खुसीको उज्यालो घाम लाग्नेछ भन्ने आशाले नागरिक सहभागी भएको देख्थेँ । आन्दोलन क्रमशः तात्दै गयो दलहरुले गुमाएको भरोसा प्राप्त गर्दै गए । बैशाख ११ मा नागरिकको जीत भयो । र लोकतन्त्र आयो । त्यसपछिका केही बर्ष नागरिकले धैर्य गरे अझै पनि गरिरहेकै छन् । अब त दलहरुले पक्कै राम्रो गर्लान् यसअघिका कमी कमजोरी सुधार्लान् भन्ने आशा थियो नागरिकको । तर संविधान निर्माणमा दलहरुले एकदमै विलम्ब गरे ।

|६२/६३ सालको जनआन्दोलनमा देखिएको भागदौड|

बल्लतल्ल संविधान जारी भयो । राज्य पुनःसंरचना र संघीयताको व्यवस्थापन पनि उस्तै ढिलो भयो । अझ दुःखको कुरा यी सबै कुरा भइसकेपछि भएको चुनावबाट आएको सरकारले पनि आफ्ना आशाहरु पूरा नगरेको गुनासो नागरिकले गरिरहेकै छन् । यो दुखद् हो । नागरिकले पटक पटक लडेर ल्याएको व्यवस्थामा पनि नागरिकका गुनासाहरु रहिरहनु राम्रो भएन । आशा गरौं अब नागरिक निराश हु्ने दिन आउने छैन । लोकतन्त्र दिवसको शुभकामना ।

|६२/६३ सालको जनआन्दोलनमा कंलकीको कर्फ्यू|

दुई वटै जनआन्दोलनका विभिन्न रुपमाहरु। तस्बिरः मीनरन्त बज्राचार्य

(बज्राचार्यसँग मकालुकर्मी लक्ष्मण कार्कीले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया