मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

सेतो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न, मूर्ति मन्दिरमा राखिँदै

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मत्स्येन्द्रनाथको रथयात्रा कोरोनाबाट बच्न स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु हुन्छ । पहिलो दिन रथलाई असन र दोस्रो दिन हनुमानढोका लगी राखिएको थियो । जात्राको तेस्रो दिन हनुमानढोकाबाट रथ तानी लगनटोल पुर्याइन्छ । जात्राको तेस्रो दिन बिहीबार लगनमा सेतो मत्स्येन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाइएको थियो । चौथो दिन शुक्रबार भव्य जात्रासहित सेतो मत्स्येन्द्रनाथलाई जनबहालमा फर्काइएको छ ।

शहरको भित्री भागमा तीन दिनसम्म रथयात्रा चल्ने गर्छ । असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः रथयात्रा मच्छेन्द्रबहालमा ल्याएर चौथो दिन अन्त्य गरिन्छ । पाँचौँ दिन आर्यावलोकितेश्वर करुणामयसमेत भनिने सेतो मच्छेन्द्रनाथलाई रथबाट निकालेर मन्दिरमा स्थापित गरिन्छ । यसपछि पाँच दिन लामो जात्रा समापन हुन्छ ।

यस वर्ष कोरोनाको नयाँ भेरियन्टसहितको जोखिम बढ्न थालेकाले स्वास्थ्य सुरक्षाको सावधानी अपनाउन रथभन्दा १५ मिनेट अघि नै सांस्कृतिक बाजाको समूह हिँडाइएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिका सचिव सुजीव बज्राचार्यले बताए । बाजा पहिले नै हिँडाएपछि रथ तान्न भीड नबढ्ने र सुरक्षितरुपमा रथ गन्तव्यमा लग्न सकिने विश्वास गरी सावधानीसाथ चार दिने जात्रा सम्पन्न गरिएको उनले बताए ।

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com