सीमामा मन्त्रीको छड्केः यसरी भित्रिदै कोरोना !

विराटनगर । शुक्रबार दिउँसोको झण्डै १ बजेको थियो । विराटनगरको रानी नाकामा आउजाउ गर्नेको निक्कै भिड थियो । नेपालबाट भारत जाने र भारतबाट नेपाल आउनेहरुको लस्करले रानीको मुख्य नाकादेखि पश्चिमको चोरबाटोमा सर्वसाधारणको ठूलो भिड थियो ।

मुख्य नाका सशस्त्र प्रहरीहरुले केहीलाई सोधी खोजी गरेको देखिन्थ्यो भने चोरबाटोबाट आउनेलाई खासै वास्ता गरेको देखिएन । कोभिडको संक्रमण भारतमा दैनिक लाखौको संख्यामा बढ्दै गएको अवस्थामा त्यसको असरको प्रवाह सीमा नाकामा देखिँदैन थियो । अघिल्ला दिनहरुमा जस्तो थियो शुक्रबारको अवस्था पनि उहिनै थियो ।एकछिन अघिसम्म आउजाउलाई खुल्लम खुल्ला गरेको सशस्त्र तथा नेपाल प्रहरीलाई त्यसको करिब आधार घण्टा बित्न नपाउँदै त्यसलाई व्यवस्थापन गर्न हम्मे हम्मे परेको देखिन्थ्यो । त्यसको कारण हो, सीमामा खुलेयाम सर्वसाधारणको आउजाउ नरोकिएपछि एक्कासी सामाजिक विकास मन्त्री चोर नाकामा पुग्नु । मन्त्रालयमा कोभिड व्यवस्थापनको बारेमा मन्त्रालय स्तरमा छलफल चलिरहँदा सामाजिक विकास मन्त्री उषाकला राई र सचिव गोबिन्दबहादुर कार्कीका बिचमा छलफल भयो र टोली तुरुन्तै सिमा नाकाको अवस्थाबारे जानकारी लिन निस्कियो ।

सिमानाकामा कडाई नहुँदासम्म कोभिड नियन्त्रण नहुने निष्कर्षमा पुगेको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको टोलीले कसैलाई जानकारी नै नदिई सीमा नाकाको अवलोकनमा पुगेको हो । मुख्यनाका रानी, जहाँ केही स्वास्थ्यकर्मी राखेर कोभिडको परीक्षण गरेर पठाउने गरिन्छ त्यो नाकाबाट नेपाल प्रवेश गर्नेको संख्या जम्मा ८ जना मात्र फेला परेपछि मन्त्रीसहितको टोली चोरबाटोमा पुगेको थियो ।त्यहाँको अवस्थाबारे सर्वसाधारणको आउजाउ देखेपछि मन्त्री अचम्ममा परिन् र यो अव्यवस्थित आउजाउलाई नियन्त्रण गर्नु पर्ने बताइन् । मन्त्रीको एक्कासी भएको सीमा अनुगमनको बारेमा जानकारी पाएलगत्तै पुगेका सशस्त्र प्रहरीका एसपी तिर्थ पौडेललाई मन्त्री राईले सीमा निगरानी र आउजाउमा लापरबाही भएको बताएकी थिइन् ।

अनुगमनको क्रममा मन्त्री राईले सिमा सिल्ड भएको भनिएको ठाउँबाट ८ जना मात्र नेपाल प्रबेश गरेको देखिएको तर चोरबाटोबाट ठुलो संख्यामा आउजाउ हुने गरेको बताइन् । ‘सामान ल्याउने, भारतबाट आउने, सामान किन्न जाने र आउनेको भिड चोरबाटोबाट भएको देखियो,’ उनले भनिन्, ‘यस बारेमा सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा सुरक्षा निकायसँग समन्वय गरेर तत्काल सिमालाई व्यवस्थित गर्नु पर्ने देखियो ।’सशस्त्र प्रहरीका एसपी तिर्थ पौडेलले सीमा नाकामा कडाई गर्ने काम भइरहेको दाबी गर्दा मन्त्री राईले सीमा नाकाबाट नै कोभिड नेपाल प्रवेश गराउने गरेको आरोप लगाइन् । मन्त्री राईले नाकाबाट कोभिड नेपाल प्रवेश गरेको कारण सीमा नाकामा कडाई गर्नेबारे सशस्त्र प्रहरीले चासो नदिएको देखिएको भन्दै तत्काल एक ठाउँबाटमात्र प्रवेश दिन र परीक्षण गर्न एसपी पौडेललाई निर्देशन दिइन् ।

कोभिड लागेर आएका व्यक्तिहरुको समेत पहिचान नै हुन नसक्ने अवस्था आएकोले सीमा क्षेत्रमा कडाई गर्नुको विकल्प नभएको बताइन् । ‘यस्तै अवस्था आयो भने हामीले कोभिड नियन्त्रण गर्नै नसक्ने अवस्था आउने देखियो,’ मन्त्री राईले भनिन्, ‘हामीले तत्काल बोर्डलाई पुरै सिल गर्नुपर्छ ।’सीमा नाका बन्द भएपनि चोरबाटो भएर नेपाल प्रवेश गर्ने क्रममा मन्त्री स्थलगत निरीक्षणको लागि पुगेपछि सशस्त्रले सीमाबाट तत्काल कसैलाई प्रवेश गर्न दिएको थिएन । उच्च अधिकारी, पत्रकार, कोही मन्त्री जाँदा आउन र जानमा बन्द गर्ने गरेपनि उनीहरु त्यहाँबाट फर्र्किए लगत्तै पुनः चोरबाटोमा कडाई गर्ने गरिएको छैन ।

मुलबाटोबाट आउ जाउ गर्न जानेहरुलाई पनि चोरबाटोबाट देखाउने तर, मुल बाटोमा सिल गरेको देखाउने प्रहरी प्रशासनको रणनीतिले प्रदेश राजधानीमा कोरोनाको दोश्रो लहरले भयावह अवस्था निम्त्याउने देखिएको छ । चोरबाटो प्रयोग गरेर दैनिक २ लाख बढिको आउजाउ हुने गरेको स्थानीय बताउँछन् ।बिहिबारमात्र मोरङका प्रमुख जिल्ला अधिकारीले सिमाबाट कसैलाई आउन जान नदिईएको बताउँदै आएको भएपनि अहिलेसम्म प्रहरी प्रशासनको तर्फबाट पहिलाको अवस्था जस्तो थियो अहिले पनि त्यस्तै नै पाईएको छ । सामाजिक विकास मन्त्री राईले अब तत्काल चोरबाटलाई रोकेर परीक्षणको दायरामा ल्याएर मात्र आउजाउ गर्न दिने नदिने बारेमा तत्काल निर्णय लिनु पर्ने बताइन् ।

प्रतिक्रिया