पुनःनिर्माण प्राधिकरणका ६४ महिना : आधारभूत काम चालू आर्थिक वर्षभित्रै सकिने

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणको काम चालू आर्थिक वर्षभित्र आधारभूत रुपमा सकिने पुनःनिर्माण प्राधिकरणले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गरी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आधारभूत काम सकेर बाँकी काम सम्पन्न गर्न सम्बन्धित निकायहरुलाई हस्तान्तरण गर्ने जानकारी दिए ।

‘यो आर्थिक वर्षभित्र आधारभूत काम सकेर बाँकी काम पूरा गर्न सम्बन्धित निकायलाई हस्तान्तरण गर्ने छौं,’ उनले भने, ‘बाँकी ९ महिनामा बाँकी काम सकेर प्राधिकरण पुनःनिर्माणको कामबाट बाहिरिनेछ ।’ पाँच वर्षमा पुनःनिर्माणको काम सक्नेगरी २०७२ पुस ५ गते स्थापना गरेको प्राधिकरणको म्याद २०७८ पुससम्म लम्ब्याइएको छ ।

निजी आवास पुनर्निमाणमा झण्डै ३३ प्रतिशत प्रगति, ७८ प्रतिशतले लिए तेश्रो किस्ता

प्राधिकरण गठन भएको ६४ महिना पुगेको छ । यस अवधिमा प्राधिकरणले निजी आवास पुनःनिर्माणतर्फ ९२.७७ प्रतिशत प्रगति भएको जनाएको छ । भूकम्पमा परी भत्किएका र पुनःनिर्माण गर्नुपर्ने कुल ८ लाख ११ हजार ७ सय ५४ निजी आवासमध्ये ८ लाख १० हजार ६ सय ३५ आवास निर्माणका लागि लाभग्राहीले पहिलो किस्ता लिइसकेको प्राधिकरणको तथ्यांक छ ।

त्यस्तै, ७ लाख ४ हजार ४ सय ६७ ले दोस्रो किस्ता रकम लिइसकेको र ६ लाख ३८ हजार ५ सय ४० लाभग्राही अर्थात् ७८.६६ प्रतिशतले तेस्रो किस्ता रकम प्राप्त गरिसकेको जनाएको छ ।

त्यस्तै १२ हजार ७ सय ८८ भूमिहीन लाभग्राही परिवारमध्ये ११ हजार ४ सय ९४ परिवारले साविककै स्थानमा घर बनाउने अनुमति पाएका छन् । १ हजार २ सय ९४ परिवारले जग्गा खरिद अनुदान प्राप्त गर्ने निर्णय भएको छ । कुल ४ हजार ७ सय २० परिवारलाई जोखिमयुक्त ठाउँबाट सुरक्षित ठाउँमा बस्ती स्थानान्तरण गर्नुपर्नेमा ३ हजार ४ सय ६२ परिवारका लागि सुरक्षित ठाउँमा जग्गा व्यवस्थापन गरिएको छ । यसैगरी, ६ सय २९ परिवारले जग्गा प्राप्त गर्ने भएका छन् ।

प्राधिकरणले ६४ ओटा एकीकृत वस्ती निर्माणका लागि स्वीकृत गरेकोमा २० वटा बस्ती निर्माण सपन्न भएको र ४४ बस्ती निर्माणाधीन अवस्थामा छन् । ३३ बस्ती सुधार गर्नुपर्नेमा २७ बस्ती सुधार सम्पन्न भएका र ६ बस्ती सुधारको काम जारी रहेको रहेको प्राधिकरणले जनाएको छ ।

सार्वजनिक संरचनामा प्रगति कति ?

पुनःनिर्माण प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ विद्यालय भवन पुनःनिर्माण गर्ने लक्ष्य रहेकोमा ६ हजार २ सय ४६ भवन पुनःनिर्माण सकिएर लक्ष्यको ८२.७ प्रतिशत प्रगति भएको छ । त्यस्तै, ४८ हजार ६ सय ८१ कक्षा कोठा पुनःनिर्माण गर्नुपर्नेमा ३४ हजार २ सय ३७ पुनःनिर्माण सम्पन्न भई ६८.९ प्रतिशत प्रगति भएको छ । १ हजार १ सय ९७ स्वास्थ्य संस्थामध्ये ६ सय ९८ भवन(९८ प्रतिशत) पुनःनिर्माण सकिएको छ । ४ सय १५ सरकारी भवनमध्ये ३ सय ७४ (९० प्रतिशत) निर्माण पूरा भएको छ ।

सुरक्षा निकायका २१६ भवन मध्ये २१४ भवन पननिर्माण भई लक्ष्यको ९९ प्रतिशत काम भइसकेको जनाएको छ । त्यस्तै, ९२० सांस्कृतिक सम्पदा पुनःनिर्माण गर्ने लक्ष्य रहेकोमा ४ सय ९३ भवनको पुनःनिर्माण सम्पन्न भएको छ ।

दाताबाट व्यक्त प्रतिबद्धता ४ खर्ब १० अर्ब, २ खर्ब ९४ अर्ब मात्र प्राप्त
प्राधिकरणले पञ्चवर्षीय पुनःनिर्माणका लागि कुल ४ खर्ब ८८ अर्ब रुपैयाँ आवश्यक हुने जनाएको थियो । यसमध्ये दाता सम्मेलनमा पुनःनिर्माणका लागि ४ खर्ब १० अर्ब रुपैयाँ बराबरको अनुदान प्राप्त हुने प्रतिबद्धता आएको थियो । तर, २ अर्ब ९४ अर्ब रुपैयाँमात्र प्राप्त हुने सुनिश्चितता भएको छ ।

मुख्य पूर्वाधारको निर्माण सम्पन्न

काठमाडौंको धरहरा, रानीपोखरी, सिंहदरबारको मुख्य भवनको सिंहदरबारको उत्तर, दक्षिण र पूर्वी भागको पुनःनिर्माण सकिएको छ । त्यस्तै, केसरमहल, बबरमहल, रत्नपार्क, खुलामञ्च, गोरखा तथा दरबार क्षेत्रका पुनःनिर्माण योजना स्वीकृत भएको छ ।

गोरखाको वारपाकलाई केन्द्रबिन्दु बनाएर २०७२ वैशाख १२ गते आएको भूकम्पले ८० वर्षयताकै ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको थियो । संरचनाहरुको पुनःनिर्माणका लागि २०७२ पुस १० गते प्राधिकरणको गठन भएको थियो ।

स्थापनाको ६४ महिनामा प्राधिकरणको अगुवाइमा पहिलेभन्दा अझ राम्रो र बलियो पुनःनिर्माण भएको प्राधिकरणका सिइओ ज्ञवालीले दाबी गरे ।

‘यस अवधिमा नाकाबन्दी, राजनीतिक स्थिरता, संघीयता कार्यान्वयन, तीनै तहको निर्वाचन, कोभिड कहरजस्ता अप्ठ्याराका बीच पनि सन्तोषजनक रुपमा पुनःनिर्माणको काम भएको छ,’ उनले भने, ‘उपलब्धी अनुभव र सिकाइलाई विश्वसामु एउटा उत्कृष्ट नमूनाको रुपमा राख्ने अवस्थामा हामी आइपुगेका छौं ।’

प्रतिक्रिया