मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

पुस्तकप्रति चासो बढिरहेको छ तर पर्याप्त छैन : सरूभक्त

विश्व पुस्तक दिवस

मार्च २३ आज अन्तर्राष्ट्रिय पुस्तक दिवस । यूनेस्कोको आह्वानमा आज विश्वभर पुस्तक दिवस मनाइन्छ । पुस्तक दिवसको महत्व व्यक्तिको बौद्धिक विकासदेखि देश विकासमा समेत रहन्छ । विगतका केही वर्षहरुलाई हेर्ने हो भने नेपालमा पठन संस्कृति अर्थात् रिडिङ् कल्चर बिस्तारै विकास हुँदै गएको पाइन्छ ।

बिस्तारै पुस्तक र अध्ययनको महत्व बुझ्न थालेका छन् । तर यसो भन्दै गर्दा पुस्तक अध्ययनप्रति जति लगानी र चासो हुनुपर्ने हो त्यसको एक छेउमा पनि नेपाल पुगेको छैन । पढेलेखेका र कुनै न कुनै पेशा अङ्गालेका मान्छेहरु पनि बहाना बनाउने गर्छन् र भन्छन्‚ ‘काम तथा कोर्सबुकको भारले गर्दा अरु पुस्तक अध्ययन गर्ने समय नै हुँदैन ।’

तर यो यथार्थ नभएर उनीहरुको बहानाबाजीमात्र हो । यूरोप अमेरिकालगायत देशमा मानिस झोलामा किताब बोकेरै हिँड्छन्, जसरी उनीहरु मोबाइल बोक्छन् । रेल स्टेसन, बस कुर्ने ठाउँ, खाजाको समय, बिदाको दिन, पार्क, क्याफे जहाँ गएर पनि पुस्तक पढ्छन् । उनीहरू हामीभन्दा समृद्ध र अनुशासित छन् । आर्थिक विकासदेखि भौतिक र बौद्धिक विकासमा उनिहरू अगाडि छन् ।

नेपालमा भने धेरै मानिस पुस्तक र अध्ययनप्रति सकारात्मक नै नभएको पाइन्छ । यसको कारण देशको व्यवस्था र सरकार पनि हो । सरकारले एउटा पनि त्यस्तो गतिलो र ठोस कदम चाल्न सकेको छैन‚ जसले आम नागरिकले पुस्तक पढ्न पाउन् । देशमा रहेको एकमात्र राष्ट्रिय पुस्तकालयलाई समेत सरकारले व्यवस्थापन गर्न सकेको छैन । अनि आम मान्छेमा एउटा भ्रम पनि रहेको छ- पुस्तक पढ्ने भन्नेबित्तिकै साहित्य नै हो र साहित्य नै पढ्नुपर्छ ।

यस्तो भ्रमबाट मुक्त गराउन ज्ञान बिज्ञानका किताब, धर्मग्रन्थ, साहित्यलगायत सबै विधाका किताबको महत्व बुझाउन सक्नुपर्छ । नेपालमा अध्ययन संस्कृति विकास गर्न प्रदेश र स्थानीय तहले नै सोच्नुपर्ने हो । हरेक स्थानीय तहमा सुविधासम्पन्न पुस्तकालय निर्माण भइसक्नुपर्नेमा सरकारहरू यसबारे कुराधरि उठाउँदैनन् र योजना पनि बनाउँदैन । यो आम नेपाली र पुस्तकप्रेमीको लागि दुःखको कुरा हो ।

विकसित मुलुकमा पुस्तकको महत्व धेरै हुन्छ । त्यही अध्ययनको वातावरण र अवसरका कारण उनीहरू वैज्ञानिक, चिन्तक, चिकित्सक, दार्शनिक जन्माउँछन् । प्रविधिमा फड्को मार्छन् । यो ज्ञानको उपज हो । सरकारले नै हरेक विधाका लेखकको भविष्य सुनिश्चित गरिदिएको हुन्छ । लेखकका कृति पाठकसमक्ष पुर्‍याउन पहल गरिएको हुन्छ । अध्ययनको क्षेत्रमा धेरै लगानी गरेको हुन्छ । लेखकलाई उत्प्रेरित गर्ने काम सरकारले नै गर्छ ।

तर, नेपालमा भने भित्रैदेखि रुचि नहुँदा पनि पुस्तक पढ्ने वातावरण छैन । सरकार नै यस विषयमा चेतनाहीन भएको महशुस हुन्छ । यसको प्रत्यक्ष घाटा फेरि देशले नै भोग्नुपर्छ । तर, यहाँ त पुस्तक पढ्ने मान्छेलाई हतोत्साहित गरेको जस्तो देखिन्छ ।

यूनेस्कोको एउटा मान्यता छ- किताबमा कर लगाउँनु हुदैन भन्ने । पुस्तक भनेको ज्ञान हो । ज्ञानको आदानप्रदान सस्तो, सहज र राम्रो हुनुपर्छ भनेर निर्णय नै भएको छ । विश्वभरी किताबको निर्यातमा असहजता नहोस् र मानिसलाई ज्ञान आर्जन गर्ने अध्ययन गर्ने विषयप्रति बाधा नहोस् भनेर यस्तो निर्णय भएको हो । नेपालले पनि त्यसमा सहमति जनाउँदै हस्ताक्षर गरेको छ । तर, नेपालमा विदेशबाट आयातित किताबमा मोटो रकम कर तिर्नुपर्छ ।

त्यो करको रकम र आफ्नो नाफा समेटेर व्यापारीले पुस्तकको चर्को मूल्य निर्धारण गर्छन् । फलस्वरुप पुस्तक किन्ने र अध्ययन कार्य सामान्य आयस्रोत भएको व्यक्तिको पहुँचभन्दा बाहिर पुग्छ । यो सरकारले गरेको सबैभन्दा ठूलो गल्ती हो ।

किताब करमुक्त हुनुपर्छ । सिकाइ र ज्ञानजस्तो कुरामा कर लगाएपछि देशले बौद्धिक जनशक्ति उत्पादन गर्न सक्दैन ।

नागरिक अज्ञानी हुनु भनेको देश अज्ञानी हुनु हो । यो विषयमा सरकारले सोच्नुपर्छ । विकास र समृद्धिको कुरा गरिरहँदा पुस्तक पढ्ने र पुस्तक खरिद गर्न सक्ने वातावरण सरकारले तय गरिदिनुपर्छ । लेखकलाई प्रोत्साहन गर्नुपर्छ ।
पाठकहरुलाई पुस्तक पढ्न प्रेरित गर्नुपर्छ । पुस्तकले ज्ञान दिन्छ । ज्ञानले अज्ञानता हटाउँछ, वैज्ञानिकता विकास गर्छ । पुस्तक ज्ञानको अजस्र श्रोत हो ।

(मनिषा पौडेलले गरेको कुराकानीमा आधारित)

प्रतिकृयाहरु
Loading...
Makalukhabar.com
Makalukhabar.com