राष्ट्रिय सभाको रिक्त पदमा बादल नै उम्मेदवार

काठमाडौं । नेकपा एमालेले रिक्त रहेको राष्ट्रिय सभा सदस्यको पदमा पार्टीका नवनियुक्त स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’लाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित बादललाई पार्टीले कारबाही गरेपछि उनको राष्ट्रिय सभा सदस्यको पद गुमेको थियो । तर, आज बसेको एमालेको बैठकले पुनः बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६१ ले कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा आयोगले त्यस्तो रिक्त सदस्यको पद ऐन बमोजिम बाँकी अवधिका लागि उप निर्वाचनद्वारा पूर्ति गरिने कानूनी व्यवस्था छ ।

एक नेताकाअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीले बादललगायतका पूर्वमाओवादी नेताहरुलाई एमालेले संरक्षण गर्ने बताएका थिए । ‘हाम्रो पार्टीतिर लागेका कारणले माओवादीले कारबाहीको नाममा रिक्त बनाएका पदहरू ३५ दिनदेखि ६ महिना भित्र हुने चुनावमा पुनः जिताएर ल्याइनेछ,‘ ओलीको भनाइ उद्धृत गर्दै ती नेताले भनेका छन्, ‘जेठ ६ गते हुने राष्ट्रिय सभाको उपनिर्वाचनमा बादल हाम्रो उम्मेदवार हो ।’

बिहीवार मात्रै निर्वाचन आयोगले राष्ट्रिय सभाको रिक्त पदका लागि आउँदो जेठ ६ गते निर्वाचन हुने भनेको छ ।

प्रतिक्रिया