बाँकेमा अवस्था भयावह, अस्पताल बाहिरै छट्पटाउँदै बिरामी

काठमाडौं । बाँकेमा कोभिड-१९ संक्रमण भयावह हुँदै गएको छ । संक्रमितको संख्या बढ्दै गएपछि अस्पतालमा शय्या पाउनसमेत मुस्किल हुन थालेको हो ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका फोकल पर्सन तेजबहादुर वलीका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष आइसोलेशन वार्ड कोरोना संक्रमितले भरिएको छ । भेरी अस्पतालमा सञ्चालन गरिएको १५ शय्याको कोभिड सघन उपचार कक्ष र १०२ शय्याको कोरोना विशेष वार्ड बिरामीले भरिएको हो । ‘अहिले सबै बेड प्याक छ, नयाँ बिरामी आए भने राख्ने ठाउँ नै छैन’ मकालु खबरसँग उनले भने ‘बेड नपाएर गम्भीर बिरामी छट्पटाइ रहँदा हामी टुलुटुल हेरेर बस्न बाध्य छौं ।’

कोरानाका शंकास्पद बिरामीलाई राख्ने ४० शय्याको प्रि-आइसोलेसन वार्डसमेत ठाउँ छैन । संक्रमण फैलिने क्रम नरोकिएकोले थेग्न नसक्ने गरी बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै प्रभावित भएको वलीले बताए । ‘बिरामीको चाप अस्पतालको क्षमताभन्दा बाहिर गइसकेको छ, दिनप्रतिदिन केश बढिरहेकाले अवस्था गाह्रो छ’, उनले भने, ‘अस्पतालमा आएका बिरामीलाई राख्नै प-यो, जति जनशक्ति चाहिने हो त्यसको आधा जनशक्तिबाट काम चलाउ ब्यवस्थापन गरिएको छ ।’

फोकल पर्सन वलीका अनुसार अहिले बाँकेमा कोभिडका १ हजार ६५४ जना सक्रिय संक्रमित छन् । यीमध्ये ११ सय बढी संक्रमित होम आइसोलेसन छन् । अन्यलाई भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर नगरपालिका कोभिड अस्पताल, ह्वाइट हाउस मनिकापुर र होम आइसोलेसनमा राखिएको छ । पछिल्लो समय हरेक दिन परीक्षण गरिएका पीसीआर नमुनामध्ये ९० प्रतिशत पोजिटिव भइरहेको छ ।

संक्रमणको स्थिति नियन्त्रण बाहिर जान थालेकाले अस्पतालमा बिरामी उपचार पाउने अवस्थाबाट बन्चित भएको उनले बताए । ‘अघिल्लो समय सामान्य लक्षण भएका संक्रमित बढी थिए । उपचारका लागि सबैलाई अक्सिजन आवश्यक परेको थिएन,’ उनले भने, ‘यसपटक कडा निमोनिया भई आउने गम्भीर प्रकृतिका बिरामी बढी छन् ।’

कडा खालका लक्षण भएका बिरामी आउने क्रम ह्वात्तै बढेकाले तत्काल अक्सिजनसमेत अभाव भएको उनको गुनासो छ । संक्रमण नियन्त्रणका अर्काको मुख ताकेर बस्ने बेला नभएको उनको भनाई छ । ‘अरुले गर्देला भन्ने समय नै छैन । पछिल्लो समय संक्रमण पुष्टि भएका मध्ये ९० प्रतिशत व्यक्तिमा लक्षण छ । हरेक पालिकामा अक्सिजन सहितको बेड व्यवस्था गर्न सकियो भने भेरी र मेडिकल कलेजमा गम्भीर खालका बिरामी राख्न सकिन्थ्यो । हामीले आवाज उठाइरहेका छौँ तर, सम्बन्धित निकाय तात्नुप-यो,’ वलीले भने ।

अब पनि संक्रमण नियन्त्रण र बिरामीको उपचारका लागि व्यवस्था नगरिए अवस्था भयावह हुने उनको बताए । ‘हामी धेरै ढिला भइसकेका छौं, अझै पनि वेवास्ता गरिए अवस्था लखनउको जस्तै हुनेछ ।’ उनले भने ।

प्रतिक्रिया