एमाले बैठक बस्दै, विपक्षीको स्पष्टीकरण मूल एजेण्डा

काठमाडौं । एमाले महाधिवेशन आयोजक कमिटी बैठक शुक्रवार (आज) पनि बस्ने भएको छ । यसअघि यो बैठक गत बैशाख ६ गते बसेको थियो । उक्त बैठकले केन्द्रीय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो । आजको बैठक बिहान ११ बजे प्रधानमन्त्री सरकारी निवासमा शुरु हुनेछ ।

एमालेभित्र आन्तरिक राजनीतिक संकट बढ्दै गएको बेलामा बस्न लागेको यो बैठकलाई चासोका साथ हेरिएको छ । आजको बैठकमा विपक्षी एमालेले बुझाएको स्पष्टीकरणबारे छलफल हुने स्रोतले मकालु खबरलाई जानकारी दिएको छ । ‘समसामयिक विषयहरु छँदैछन्,’ स्रोतले भन्यो– ‘त्यसबाहेक विपक्षी एमालेको स्पष्टीकरणबारे थप छलफल र कारबाहीको सन्दर्भ अगाडि बढ्ने चाहिँ आजको मूल विषय हो ।’

यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभाका २७ सांसद र कर्णाली प्रदेशका ५ जना सांसदलाई स्पष्टीकरण सोधेका थिए । उनीहरु सबैले स्पष्टीकरण बुझाइसकेका छन् । अध्यक्ष ओली र नेता नेपालबीच समस्या समाधानको प्रयासस्वरुप दुई पटक वार्ता भएको छ । तर, वार्ताबाट कुनै खाले निष्कर्ष निस्किएको छैन ।

आजको बैठकमा केन्द्रीय सदस्यहरुको कार्यविभाजनका लागि संगठन विभाग प्रमुख विष्णु पौडेलको संयोजकत्वमा शंकर पोखरेल र टोपबहादुर रायमाझी सदस्य रहेको कार्यदलले तयार पारेको प्रतिवेदनमाथि पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया