रासायनिक मल कारखाना सञ्चालनमा ल्याइँदै

कञ्चनपुर । कृष्णपुर नगरपालिका-६ बालुवाफाँटामा स्वदेशी कच्चा पदार्थमा आधारित रासायनिक मल काराखाना सञ्चालन गरिने भएको छ । निजी क्षेत्रको रु १३ करोड ७५ लाख लगानीमा नेपाल फर्टिलाइजर इण्डस्ट्रिज प्रालिले मल कारखाना सञ्चालन गर्न लागेको हो ।

कारखानालाई असार महिनाभित्रै सञ्चालन गर्ने गरी काम अगाडि बढाइएको छ । कारखानाले पहिलो चरणमा पोटास, एनटिके र डिएपी मल उत्पादन गर्ने लक्ष्य लिएको छ । ‘पोटास मल असारदेखि उत्पादन गर्छौँ । आउँदो मङ्सिर, पुसभित्रै अरु दुई मल उत्पादनको काम अगाडि बढाइन्छ,’ कारखानाका सञ्चालक उमाकान्त जोशीले भने ।

मलका लागि आवश्यक पर्ने कच्चा पदार्थका रूपमा बैतडीमा रहेको फस्फोरसको प्रयोग गरिने उनले बताए । कारखानाका लागि आवश्यक पर्ने अन्य रासायनिक पदार्थ, मेसिनलगायत जर्मनीबाट ल्याउने योजना कारखाना सञ्चालकको छ । कारखानाले वार्षिकरूपमा १० हजार मेट्रिक टन मल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कारखानाका लागि भौतिक संरचना निर्माण शुरुआतको काम भइसकेको छ । स्वदेशी कच्चा पदार्थको प्रयोग गरी सञ्चालन गरिने मल कारखाना नेपालकै पहिलो हुने सञ्चालकहरुको दाबी छ । कारखाना रहने जग्गाको क्षेत्रफल सात हजार ५०० वर्गफिट रहेको छ ।

साझेदारी फार्मका रूपमा दुई उद्योगीले कारखाना सञ्चालन गर्दैछन्। उद्योगमा प्रत्यक्षरूपमा ५० भन्दा बढीले रोजगारी पाउनेछन् । कृष्णपुर नगरपालिकाका प्रमुख कर्णबहादुर हमालले कारखानलाई नगरकै गौरवको योजनाका रूपमा लिएको बताए ।

‘बाली लगाउने बेला किसानलाई रासायनिक मल नपाउँदा निकै सास्ती हुँदै आएको छ । मल कारखानाले गुणस्तरीय मल उत्पादन गरे सुदूरपश्चिम प्रदेशकै किसानले राहत पाउँछन्’ उनले भने । कारखाना सञ्चालनका लागि नगरपालिकाबाट हुनसक्ने सहयोगका लागि सधैँ प्रतिबद्ध रहेको उनले बताए ।

प्रतिक्रिया