प्रदेश १ मा कोरोना संक्रमणको दर दैनिक दोब्बर

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमणको दर दैनिक दोब्बरले बढ्न थालेको छ । बुधबार १०३ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार  १६८ जनामा देखिएको छ ।  हरेक दिन संक्रमण बढ्दै जाँदा पनि स्वास्थ्य‚ सुरक्षा‚ सतर्कतामा ध्यान दिइएको छैन ।

बिहीबार मोरङमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, तेह्रथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा मात्र एकैदिन बिहीबार ९७ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४६ जना महिला र ५१ जना पुरुष छन् । मोरङको बुढीगंगा, उर्लाबारी, कटहरीमा २-२, सुन्दरहरैचा, पथरीशनिश्चरे र रंगेलीमा १–१ र स्थानीय तह नखुलेका २ जना, सुनसरीको धरानमा १६, इटहरीमा ७, बराहक्षेत्र, दुहवी, गढी, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१, झापाको भद्रपुर र विर्तामोडमा ४–४, कनकाईमा ३, दमकमा २, अर्जुनधारा, मेचीनगर, झापागाउँपालिका र स्थानीय तह नखुलेका ठाउँमा २, धनकुटाको धनकुटा नगरपालिकामा २, तेह्रथुमको लालीगुराँसमा १, उदयपुरको त्रियुगामा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ७० पुगेको छ । संक्रमितमध्ये २९ हजार ९३२ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमित ६६६ जना छन् । प्रदेश १ मा बिहीबार ६ सय २ जनाको पीसीआर परीक्षण गरिएकोमा ७२ महिला र ९६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

अन्यौलमा प्रशासन
कोरोना संक्रमण नियन्त्रणका लागि प्रदेश सरकारले पनि खासै चासो दिएको छैन । दैनिक दुई सयको हाराहारीमा संक्रमित पुग्न लाग्दा समेत कुनै तयारी र त्यसको स्वास्थ्य सतर्कता अपनाइएको छैन । स्थानीय प्रशासन र तहले पनि यसमा कुनै चासो नदिएको स्थानीयको भनाइ छ । सरकार, स्थानीय प्रशासन तथा स्थानीय तहले चासो दिएका त छैनन् नै नागरिकले पनि बेवास्ता गर्दा यसको अवस्था झन् भयावह हुने देखिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले एउटा संयन्त्रले मात्र काम गर्न नसक्ने भएकाले सबैले चासो दिएमा मात्र कोरोना नियन्त्रण हुने बताए । ‘अहिले पनि स्थानीय सरकारबाट दैनिक उद्घाटन र भेला भइ नै रहेको छ,’ उनले भने, ‘यसले पार्ने प्रभावको बारेमा सबैल सचेतता अपनाउनै पर्छ ।’

विराटनगरमा बढी संक्रमण देखिएपछि महानगरपालिका क्षेत्रमा सुरक्षा मापदण्डको पालना गराउने भन्ने उद्देश्य भएकाले त्यहीअनुसारको काम भइरहेको उनले बताए । कोरोना संक्रमणको दर फैलिरहेको अवस्थामा भने यसको रोकथाम र नियन्त्रणमा कुनै योजना बनिनसकेको उनले सुनाए ।

‘हामी एक्लैले गर्न सक्ने अवस्था केही छैन,’ प्रमुख जिल्ला अधिकारी निरौलाले भने, ‘सबैले आफ्नो ठाउँबाट संस्कारको शुरुवात गर्नुपर्‍यो ।’ उनले अहिले हुँदै आएका सभा-सम्मेलन, प्रतियोगिता, आमसभा, उद्घाटनलगायतका काम बन्द गर्नुपर्ने बताए ।

प्रतिक्रिया