हावाहुरी र चट्याङले दुईजनाको मृत्यु

विराटनगर । हावाहुरी र चट्याङले दुईजनाको मृत्यु भएको छ । झापामा हावाहुरीका कारण रुखको हाँगा भाँचिएर एकजनाको ज्यान गएको छ भने मोरङमा चट्याङ लागेर एकजनाको ज्यान गएको हो ।

झापा कमल गाउँपालिका- ५ सितापुरीका ८ वर्षीय योजल राईको रुखको हाँगाले लागेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो बुबासँग वृक्षारोपणको नर्सरीमा दाउरा टिप्न गएको अवस्थामा हावाहुरीले मसलाको रुखको हाँगा भाँचिएर लाग्दा उनको मृत्यु भएको हो ।

त्यस्तै मोरङको कानेपोखरी- २ दलेलीकी ४३ वर्षीय सुकवती राजवंशीको चट्याङमा परी मृत्यु भएको छ । बिहान पानी परेको समयमा घर नजिकै रहेका गाईगोरू सार्न जाने क्रममा चट्याङमा परी गम्भीर घाइते भएकी राजवंशीको उर्लाबारीस्थित मदनभण्डारी अस्पताल तथा ट्रमासेन्टरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

प्रतिक्रिया