सर्वोच्चमा विपक्षी एमालेको रिट दर्ता, आइतबार सुनुवाइ

काठमाडौं । विपक्षी एमालेले सर्वोच्च अदालतमा रिट दायर गराएको छ । नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालद्वारा दायर रिटमा आइतवार सुनुवाइ हुने सर्वोच्च स्रोतले जनाएको छ ।

रिटमा अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्चको गत वर्षको फागुन २३ गतेको निर्णयविपरीत पार्टीलाई अनधिकृत तरिकाले कब्जा गरेको उल्लेख गरिएको छ । आफूहरुको राजनीतिक जीवन नै समाप्त पार्ने दूराशयपूर्ण मनोभावना राखी संसद् सदस्यबाट निष्कासन गर्न खोजेको पनि उल्लेख छ ।

यस्तै यो समूहले अनधिकृत निर्णयको आधारमा आफूहरुसमेत २७ जनालाई स्पष्टीकरण सोधेको पनि उल्लेख गरिएको छ । ‘पार्टी अध्यक्षले कुनै पनि बखत राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दल त्याग गरेको भनी कारबाही गर्न सक्ने पूर्ण आशंका भएकाले त्यस्तो कार्य प्रतिशोधको आदेशद्वारा तत्काल रोक्नु भन्ने आदेश समेत जारी गरिपाउँ ।’

नेपाल समूहले ०७५ जेठ २ मै फर्किनुपर्ने अडान राख्दै आएको छ भने फागुन २८ गतेयता पार्टीले गरेको निर्णयहरु रद्द हुनुपर्ने बताउँदै आएको छ । तर, अध्यक्ष ओलीले भने आफू पार्टी नीति र विधानसम्मत् अगाडि बढिरहेको जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया