नेपालद्वारा मलेसिया फेरि पराजित

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिकोणात्मक ट्वी-ट्वेन्टी क्रिकेटमा नेपालले मलेसियालाई दोश्रो पटक पराजित गरेको छ । बिहीबारको खेलमा नेपाल ६९ रनले विजयी भएको हो ।

२ सय १८ रनको लक्ष्य पछ्याएको मलेशियालाई १९ ओभर १ बलमा १४८ रनमा अलआउट गर्दै नेपाल विजयी भएको हो ।

यससँगै नेपाल शीर्ष स्थानमा रहँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनलमा नेपालले शनिबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।

बिहीबारको खेलमा नेपाललाई जिताउन सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान तीन तीन विकेट लिए । कमलले राष्ट्रिय टीममा आजै डेब्यु गरेका हुन् । १९ बल बलिङ गरेका उनले मात्र १६ रन दिएर ३ विकेट लिए । सोमपालले ४ ओभरमा १ मेडनसहित २० रन खर्चिए । तीन विकेट लिएपनि सन्दीपले भने महंगो बलिङ्ग गरे । ४ ओभरमा उनले ४२ रन दिए । सुसन भारीले पनि एक विकेट लिए ।

त्रिवि मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो ।

नेपालका लागि करण केशीले ४५, आशिफ शेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दिपेन्द्र सिंह ऐरीले ३३, कुशल भुर्तेलले १६ र विनोद भण्डारीले ८ रन बनाए । कु्शल मल्ल १९ रनमा नटआउट रहे । मात्र १३ बलमा ४५ रन बनाउने क्रममा करणले ७ छक्का प्रहार गरे ।

३२ बल खेलेका आशिफले तीन छक्का र तीन चौका सहित ४२ रन बनाएर आउट भए । यस्तै, २५ बल खेलका कप्तान मल्लले ४ छक्का र १ चौकाको मद्दतमा ४१ रन बनाए । यसअघिका तीन खेलमा अर्धशतक बनाएका कुशल आज भने १६ रनमा आउट भए । १२ बल खेलेका उनले २ छक्का प्रहार गरे ।

प्रतिक्रिया