नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिकोणात्मक ट्वी-ट्वेन्टी क्रिकेटअन्तर्गत मलेसियासँगको दोश्रो खेलमा नेपालले २१८ रनको लक्ष्य दिएको छ ।

यो नेपालले ट्वेन्टी-ट्वेन्टी क्रिकेटमा प्रस्तुत गरेको अहिलेसम्मको दोश्रो उच्च योगफल हो । नेपालले कीर्तिपुरमा भुटानसँग २ सय ३६ रन बनाएको थियो । प्रतियोगितामा यसअघि नेपालले नेदरल्याण्ड्सलाई २ सय ७ रनको लक्ष्य दिएको थियो ।

बिहीबार त्रिवि मैदान कीर्तिपुरमा मलेसियाले टस जितेर पहिले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको हो ।

नेपालका लागि करण केसीले ४५, आशिफ शेखले ४२, कप्तान ज्ञानेन्द्र मल्लले ४१, दिपेन्द्र सिंह ऐरीले ३३, कुशल भुर्तेलले १६ र विनोद भण्डारीले ८ रन बनाए भने कुशल मल्ल १९ रनमा नटआउट रहे ।

मात्र १३ बलमा ४५ रन बनाउने क्रममा करणले ७ छक्का प्रहार गरे ।

३२ बल खेलेका आशिफले तीन छक्का र तीन चौका सहित ४२ रन बनाएर आउट भए । यस्तै, २५ बल खेलका कप्तान मल्लले ४ छक्का र १ चौकाको मद्दतमा ४१ रन बनाए । यसअघिका तीन खेलमा अर्धशतक बनाएका कुशल आज भने १६ रनमा आउट भए । १२ बल खेलेका उनले २ छक्का प्रहार गरे ।

नेपाल प्रतियोगिताको फाइनल पुगिसकेको छ । आजको खेल जिते नेपाल शीर्षस्थानमा रहँदै फाइनल खेल्नेछ ।

प्रतियोगिताबाट बाहिरिइसकेकाले मलेसियाका लागि आजको खेलमा जित वा हारको कुनै अर्थ हुनेछैन । फाइनलमा नेपाल र नेदरल्याण्ड्सले खेल्नेछन् ।

प्रतिक्रिया