फुटको संघारमा पुगेको एमालेका युवा नेताहरू भन्छन्- मिलन सम्भव छ, दुवै पक्ष लचिलो बनौं

काठमाडौं । समानान्तर गतिविधि तथा स्पष्टीकरण र कारबाहीको श्रृंखला बढ्दै गएपछि एमाले पार्टी फुटको संघारमा पुगेको छ । तत्कालीन नेकपामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग एउटै कित्तामा उभिएका एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले समानान्तर कमिटी बनाउँदै, समानान्तर भेला गर्दै र पार्टीको ह्वीप उल्लंघन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिक टक्कर दिँदै आएका छन् ।

अध्यक्ष ओलीले भने स्पष्टीकरण र कारबाहीको प्रक्रियालाई अघि बढाएका छन् । जसले एमालेलाई झनै फुटको संघारमा पुर्‍याएको छ ।

खासगरी सर्वोच्च अदालतले नेकपालाई पूर्ववत् अवस्थामै फर्काइदिएपछि थप चिढिएका नेपाल-खनाल पक्षले अहिलेसम्म ६७/६८ जिल्लामा समानान्तर कमिटी बनाइसकेका छन् ।

नेताहरुले भने दुवै पक्ष लचिलो भएर मिलेर जानुको विकल्प नरहेको बताउन छोडेका छैनन् । ‘अन्ततोगत्वाः एमाले मिलेर जानुको विकल्प छैन,’ ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङ्गले मकालु खबरसँग भने‚ ‘हाम्रो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग भेटघाट गरिरहनुभएको छ । मिलेर जाने प्रयासस्वरुप नै गरिएको भेट हो । यदि फुटेरै जाने भन्ने खालको मनसाय भएको भए त उहाँले नेताहरुलाई नै भेट्नुहन्नथ्यो होला नि त । त्यसैले अझै हाम्रो बटमलाइन भनेको मिलेर जाने नै हो ।’

प्रतिनिधि सभामा नेपाल खनाल पक्षका ३८ मध्ये २७ सांसदलाई जतिबेला पनि कारबाहीको भागीदार बन्न सक्ने भन्दै दिएको चेतावनीबारे भने नेता नेम्वाङले यहाँसम्म आइपुग्दा के के भए, त्यो हेर्नुपर्ने बताए । ‘जस्तो त्यहाँसम्म आइपुग्दा के के भए अगाडि ? त्यो पनि त हेर्नैपर्ने होला नि ? कर्णालीको कुरा छ, त्योभन्दा अगाडि पनि यस्तो धेरै कुरा भएका छन् नि । सबै हेर्नुपर्‍यो नि,’ नेम्वाङले भने । यद्यपी, नेता नेम्वाङले एमालेको मिलनबिन्दु भने बहस तथा छलफल नै भएको बताए ।

नेपाल पक्षका नेता योगेश भट्टराईले भने एमाले एक बन्न पार्टी अध्यक्ष ओली नै लचिलो बन्नुपर्ने बताउँछन् । बुधबार दिउँसो ओलीसँग एकल संवाद गर्न बालुवाटार पुगेका नेता भट्टराईले भनेका थिए‚ ‘अध्यक्ष तपाईं नै हुनुहुन्छ । पार्टीलाई अझै एक बनाएर लाने सोच हो भने तपाईं नै लचिलो बन्नुपर्छ ।’ आफ्नो तर्फबाट पार्टीलाई एक बनाएर लानेगरी सहमति गर्न आफू प्रतिबद्ध रहेको नेता भट्टराईको भनाइ थियो । नेता भट्टराईलाई उद्धृत गर्दै स्रोतले मकालु खबरलाई भन्यो‚ ‘म आफ्नोतर्फबाट प्रतिबद्ध छु । तपाईंले पनि सोच्नुपर्ने हुन्छ ।’

बालुवाटार स्रोतका अनुसार नेता भट्टराईको यस्तो आग्रहमा ओलीले सकारात्मक जवाफ दिएका छन् । ‘संवाद राम्रै भयो भन्ने लागेको छ । अझै पनि एमाले मिलेर जानुको विकल्प देखिँदैन नै । यसो हुँदा पनि मिलेरै जाने भन्ने प्रयासस्वरुप अध्यक्षज्यूले बहस तथा छलफल अगाडि बढाउनुभएको छ,’ स्रोतले भन्यो ।

गत चैत पहिलो साता संशोधित एमाले संसदीय दलको विधानको दफा २५ (६) मा संसदीय दललाई ठूलो हानी हुने अवस्था आएमा तत्काल कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ । यो विधानलाई पनि नेताहरुले विशेष ध्यान दिनुपर्ने ओलीनिकट नेताहरु बताउँछन् । उक्त विधानअनुसार दलको नेताले कुनै पनि सदस्यलाई ६ महिनामा नबढ्ने गरी तत्काल दलको सदस्यताबाट निलम्बन गर्न सक्ने प्रावधान छ । विधानमा दलको नेताको निर्णय त्यसपछि बस्ने बोर्ड वा संसदीय दल बैठक जुन पहिला बस्छ, त्यसमा अनुमोदनका लागि पेस गर्नुपर्ने व्यवस्था छ ।

ओली पक्षीय नेता प्रदीपकुमार ज्ञवाली एमाले एक नै भएर अघि बढ्ने बताउँछन् । दुवै पक्षले संयमित भएर अगाडि बढ्ने बेला आएको नेता ज्ञवालीको तर्क छ । ‘अबको एमालेको मिलनबिन्दु भनेको पहिले भए/गरेका कमी कमजोरीको दुवै पक्षले समीक्षा गर्ने र अब उप्रान्त पार्टीभित्र गुटबन्दी नगर्ने भन्ने कोणबाट सहमति गरेर अगाडि जानुपर्छ भन्ने हो । र, त्यो कोणबाट हामीले बहसहरु अगाडि बढाएका पनि छौं,’ नेता ज्ञवालीले भने ।

एमाले अझै एकताबद्ध भएरै अघि जानेमा आफू विश्वस्त रहेको पनि नेता ज्ञवालीको भनाइ छ । ‘मलाई विश्वास पनि छ, साथीहरुले आत्मालोचना गरेर आउनुहुन्छ भन्ने । अन्ततः हामी एक भएरै अगाडि जान्छौँ । मिलनबिन्दु भनेको चाहिँ अघिनै भनेँ मैले, अगाडिको कमी कमजोरीको समीक्षा र अब गुटबन्दी नगर्ने भन्ने कुरा नै हो । दुवै पक्षले यस्तो गरिएको खण्डमा पार्टी अझै एकताबद्धै भएर अगाडि जान्छ । अन्यथा दुर्घटना निम्तिन सक्छ । हामी यसबाट बच्ने बाटो खोजिरहेका छौँ ।’

नेपाल पक्षीय नेता गोकर्ण विष्टले भने पार्टीभित्र कारबाहीको छडी हान्न थालिएपछि पार्टी यो स्थितिमा पुगेको बताएका छन् ।

कारबाही र संवादहीनताले समस्यालाई अझ बढाउने नेता विष्टको तर्क छ । ‘एउटा इमानदार कार्यकर्ताको लागि पदीय हैसियतभन्दा पार्टी र आन्दोलनको भविष्य सधैं माथि हुन्छ,’ नेता विष्टले भने, ‘एमालेका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकको चाहनाबमोजिम एकतापूर्वको एमालेका सम्पूर्ण आधिकारिक कमिटीहरू ब्युँताएर विधिमार्फत् समाधान खोज्नपर्छ ।’

एमाले यथास्थितिमै अगाडि बढ्छ कि पुनः एक बनेरै अगाडि जान्छ ? भन्ने प्रश्नमा नेता विष्टले भने‚ ‘सबै नेताहरुको मनसाय मिलेरै जाने भन्ने भएपनि त्यसो हुन सकेको छैन । यो कुरालाई दुवै पक्षले मनन गर्नुपर्ने हुन्छ । यो माध्यमबाट अगाडि बढियो भने एमालेको मिलनबिन्दु निश्चित छ । अन्यथा भन्न सकिन्न ।’

प्रतिक्रिया