फाइनलमा नेपाल र नेदरल्याण्ड्स खेल्ने

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार मलेसिया र नेदरल्याण्ड्सको खेल बराबरीमा सकिएसँगै फाइनलमा नेपाल र नेदरल्याण्ड्स खेल्ने तय भएको हो । लिगबाट शीर्ष स्थानमा कुन देश रहने भन्ने टुंगो नेपाल र मलेसियाको खेलबाट लाग्नेछ ।

वर्षाले खेल प्रभावित भएपछि डक वर्थ लुइस विधीअनुसार छोट्याइएको बुधबारको खेलमा १० ओभरमा ९२ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो ।

मलेसियाका साइद अजिजले ३० र अनवर अरुद्धिनले २३ रन बनाएपनि मलेसियाको जीतका लागि पर्याप्त भएन ।

पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १० ओभर २ बलमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्ले ४ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

मलेशियाले डक वर्थ लुइस नियमअनुसार १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । नेदरल्याण्ड्सका बेन कुपर ५४ रनमा नटआउट रहे । पिटर सिडालले ३४ रन बनाए ।

लिगको अन्तिम खेलमा बिहीबार नेपाल र मलेशिया खेल्नेछन् । मलेसियालाई हराए नेपाल शीर्ष स्थानमा रहनेछ भने पराजित भए दोश्रो स्थानमा रहँदै फाइनल खेल्नेछ ।

प्रतिक्रिया