गाउँमा कुकुर समस्या : घरेलु कुकुरको जंगली व्यवहार

विराटनगर ।
घटना १
रंगेली नगरपालिका ७ का रामचन्द्र सहनीको बाख्रालाई कुकुरको समूहले घेराहालेर आक्रमण गर्‍यो अनि घाइते बनाएर छाड्यो । खेतमा चराइरहेको माउ बाख्रालाई चारैतिरबाट घेरेर कुकुरको समुहले ज्युँदै खान थाल्यो र भुँडी नै बाहिर निकालिदियो । सहनीले घाइते बाख्राको उपचार त गरे तर बचाउन सकेनन् । कुकुरले खाएर भुँडी नै निकालिदिएकाले बचाउन नसकेको सहनीको भनाइ छ ।

घटना २
रंगेलीकै बनियाँ ऋषिदेवको खेतमा चराउन लगेको बेला ४ वटा खसीमध्ये एउटालाई कुकुरले टोक्यो । कुकुरको टोकाइबाट गम्भीर अवस्थामा पुगेको खसी उपचार गर्दा गर्दै मर्‍यो । कुकुरबाट बाख्रा, पाठा, गाई‚ भैँसीका पाडा तथा बाच्छा बाच्छी जोगाउनै समस्या भएको उनले सुनाए ।

घटना ३
सुनवर्सी नगरपालिका- ४ कासिजानमा एक हप्तामा ४ वटा खसी कुकुरले मारेको छ । स्थानीय जीवनकुमार दासका अनुसार १२ किलो, २३ किलो, २० किलो र २५ किलोको खसी कुकुरले मारेको हो । कतिपयको गोठमा गएर कुकुरले मार्ने गरेको छ भने कतिपयको चरनको समयमा बारीमा झम्टेर टोकेर मार्ने गरेको छ ।

त्रसित स्थानीय
मोरङको रंगेली र सुनवर्सी नगरपालिकामा कुकुरले घरपालुवा जनावरलाई खान थालेपछि स्थानीय त्रसित भएका छन् । रंगेली नगरपालिका- ७ र सुनवर्सी नगरपालिका- ४ मा कुकुरले स्थानीयका चौपायामाथि आक्रमण गर्ने र मार्ने गरेका छन् । केही महिनाअघिदेखि आफ्नो घरमा पालेका खसी/बाख्रा जोगाउन हम्मे हम्मे पर्ने गरेको सहनीले बताए ।

गाउँघरमा खान नपाउने र बस्तीका पशुलाई आक्रमण गरेको हुनसक्ने स्थानीय बताउँछन् । रंगेलीका सुरेन्द्र मण्डलले खान नपाएपछि कुकुर  शिकारी भएकाले खसी, बाख्रा र साना बाच्छाबाच्छीलाई टोक्ने गरेको सुनाए । ‘कुकुर बाख्रापाठामा झम्टिएको बेला उसले खान नपाउँदा मान्छेलाई समेत आइलाग्छ,’ मण्डलले भने, ‘चारैतिरबाट घेरा हालेर आउँदा त आफूलाई नै ज्यान जोगाउन मुस्किल पर्छ ।’

निरीह नगरपालिका

गाउँमा कुकुर आतंक बढ्दै जाँदा पनि स्थानीय तहहरुले नियन्त्रणका लागि कुनै योजना बनाएका छैनन् । रंगेली र सुनवर्सी नगरपालिकामा मात्र होइन‚ मोरङका १७ वटा स्थानीय तहमा नै पशुको संरक्षण र नियन्त्रणका लागि कुनै ठोस योजना नै बन्न सकेको छैन ।

रंगेली नगरपालिका पशुपंक्षी शाखा प्रमुख दिपक खतिवडाले कुकुर आतंकबाट रंगेलीको वडा नम्बर ३ पनि प्रभावित भएको बताए । हाम्रोमा मात्र कुकुरको समस्या हैन, यस्तै समस्या रहेको रतुवामाई र पथरी नगरपालिकाले कुकुरलाई बन्ध्याकरण गरेपछि समस्या समाधान भएको उनले बताए । खतिवडाले नगरपालिकाले अहिलेसम्म कुकुर नियन्त्रणका लागि कुनै योजना नबनाएको जानकारी दिए । आगामी आर्थिक वर्षमा बजेट बनाएर नै कुकुर नियन्त्रणको रणनीति बनाइने स्पष्ट पारे ।

प्रतिक्रिया