भेन्टिलेटर र आईसीयू शय्याका उपकरण अलपत्र

धनकुटा । जिल्ला अस्पताल धनकुटामा भेन्टिलेटर र सघन उपचार कक्ष आईसियू शय्याका उपकरण अलपत्र परेका छन् ।

उपकरण ल्याएको डेढ महिना भएपनि जडान गर्न नसकेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिवेक्षक डा. पुजन विश्वकर्माले बताए ।

उपकरणहरु अस्पतालको दोस्रो तल्लामा त्रिपालले छोपेर राखिएको छ । नेपाल सरकारको जनसुरक्षा कोषको सहयोगमा ४ वटा भेन्टिलेटरसहितको १० वटा आईसियू वेड संचालन गर्न करिव १ करोड ६५ लाख रुपैयाका उपकरणहरु ल्याइएपनि ठाउँको अभाव र अन्योलले गर्दा जडान गर्न नसकिएको डा. विश्वकर्माले बताए ।

जिल्ला स्वास्थ्य कार्यालयको भवनमा अस्पतालको केहि सेवासहितको प्रशासनिक फाँट सारेर खाली भएको स्थानमा भेन्टिलेटरसहितको आईसियू वेडका लागि आवश्यक उपकरण जडान गर्ने प्रक्रिया अघि वढाइएको थियो । तर १ नं. प्रदेशको सामाजिक विकास मन्त्रालयले हालको स्वास्थ्य कार्यालय महिला विकास कार्यालयको नयाँ भवनमा सार्ने निर्णय गरेपछि त्यो प्रक्रिया रोकिएको थियो ।

तर, अझैपनि स्वास्थ्य कार्यालय नसर्दा उपकरण जडान गर्न समस्या भएको हो । अस्पतालले भेन्टिलेटरसहितको आईसियू वेड राख्न आवश्यक पूर्वाधार निर्माणको लागि ठेक्का लगाइसकेपनि कार्यालय सार्ने कुराले समस्या भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया