अब जथाभावी मास्क फ्याँक्नेलाई कारबाही

काठमाडौँ । मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड-१९ सङ्क्रमण फैलिएपछि काठमाडौं उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको छ ।

यसअघि सडकमा यत्रतत्र मास्क फ्याँक्ने गरिएको थियो । त्यसबाट सङ्क्रमण फैलने डर हुन्थ्यो । अब त्यसरी मास्क फ्याँक्नेलाई कारवाही गर्ने गरी उपत्यकाको प्रशासनले नयाँ व्यवस्था लागु गरेको छ । मुख्यगरी यातायातका साधन सञ्चालनमा थप कडाइका साथै प्रयोग गरेका मास्कलगायत सामग्री विसर्जनमा ध्यान दिन भनेको छ ।

अब विसर्जन गर्नुपर्ने मास्क बन्द डस्टबिन वा प्लास्टिकको झोलामा बन्द गरी सुरक्षित साथ पाँच दिन अनिवार्य रूपमा सुरक्षित साथ राख्नुपर्ने छ । त्यसपछि मात्रै विसर्जन गर्नुपर्ने छ । अटेर गरेमा कारबाही हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । सरकारले दिएको आदेश नमान्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिनेछ ।

घर तथा सार्वजनिक स्थानमा जथाभावी नथुक्न र प्रयोग गरेको मास्क जथाभावी नफ्याँक्न पनि भनिएको छ । सरकारी आदेशअनुसार काठमाडौँ प्रशासनले उपत्यकामा सङ्क्रमण रोक्न मानवीय गतिवधि नियन्त्रण गर्न थालेको हो । नयाँ भेरियन्टसहित कोभिड-१९ महामारीको सङ्क्रमण बढ्दै गएको सन्दर्भमा त्यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्ले सोमबार महत्वपूर्ण निर्णय गरेको थियो ।

प्रतिक्रिया