२५ जनाभन्दा कमको उपस्थितिमा शुभकार्य गराउन प्रशासनको अनुमति चाहिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाको नयाँ भेरियन्ट बढ्दै गएपछि भीडभाड हुने सबै क्षेत्र वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

मंगलबार सूचना जारी गरी प्रशासन कार्यालयले सिनेमा, पार्टी प्यालेस, डान्स बारलगायतका मानिसहरूको भीडभाड हुने अन्य प्रकारका सबै कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको हो ।

प्रशासनले २५ जनाभन्दा कम व्यक्तिको उपस्थितिमा पार्टी प्यालेसमा विवाह वा व्रतबन्धजस्ता कार्य गर्नुपरेमा प्रशासन कार्यालयमा निवेदन दिनुपर्ने जनाएको छ । २५ जनाभन्दा कम व्यक्तिको सहभागितामा आफ्नै घर अथवा कम्पाउन्डभित्र यस्ता कार्य सञ्चालन गर्न भने अनुमति लिनु नपर्ने सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै विद्यालयसमेत वैशाख मसान्तसम्म बन्द गर्ने र अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने सूचनामा उल्लेख गरिएको छ । त्यस्तै पूर्वनिर्धारित परीक्षा भने जनस्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न प्रशासन कार्यालयले निर्देशन दिएको छ ।

प्रतिक्रिया